डडेल्धुरा — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) डडेल्धुराका उम्मेदवार चक्रप्रसाद स्नेहीले पाँच वर्षे विकास र सुशासन केन्द्रित प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ‘सबल नेतृत्व, समृद्ध डडेल्धुरा’को संकल्पसहित उनले सूर्य चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरेका हुन्।
स्नेहीले सार्वजनिक प्रतिबद्धतापत्रमा मुलुकको वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सचेत र जिम्मेवार मतदाताको निर्णयले स्थायित्व, सुशासन र आर्थिक उन्नतितर्फको यात्रालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रियसभा सदस्यका रूपमा संघीय संसदमा काम गर्दा हासिल गरेको अनुभव अब डडेल्धुराको समग्र हितमा प्रयोग गर्ने उनको भनाइ छ।
उनले कानून निर्माणदेखि सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी, नीति तथा बजेट प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। शिक्षा र स्वास्थ्य सेवा सुधार, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका स्नेहीले कृषि, जलस्रोत, जडीबुटी तथा पर्यटन विकासलाई आर्थिक उकासोका आधार स्तम्भका रूपमा चित्रण गरेका छन्। संसदीय कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने योजना पनि उनको प्रतिबद्धतामा समेटिएको छ।

जिल्ला विकासका सन्दर्भमा सडक, पुल, खानेपानी, सिंचाइ, विद्युत र सञ्चार पूर्वाधार विस्तारसँगै एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना उनले सार्वजनिक गरेका छन्। प्रविधिमैत्री विद्यालय विकास, डडेल्धुरा अस्पताल स्तरोन्नति गर्दै भविष्यमा मेडिकल कलेज सञ्चालनका लागि पहल गर्ने तथा पालिकास्तरका आधारभूत अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्न संघीय तहबाट पहल गर्ने उनको लक्ष्य छ।
त्यसैगरी बाढीपहिरो र भूमि समस्याको दीर्घकालीन समाधान, वातावरण संरक्षण, बसाइँसराइ न्यूनीकरण, जिल्लाका गौरवका आयोजनामा संघीय बजेट सुनिश्चित गर्ने तथा केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्ने विषय पनि प्रतिबद्धतामा समावेश छन्। खेलकुद पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रम सञ्चालनमार्फत प्रतिभा विकासमा जोड दिने उनले बताएका छन्।
स्नेहीले आफू जनताको प्रतिनिधि मात्र नभई जनआवाजको संवाहक बन्ने दाबी गर्दै नियमित भेटघाट, सार्वजनिक सुनुवाइ र प्रत्यक्ष संवादलाई निरन्तरता दिने बताएका छन्। महिला, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति तथा युवाका सवाललाई नीति र कार्यक्रममार्फत सम्बोधन गर्ने, सीप विकास र उद्यमशीलताबाट रोजगारी प्रवर्द्धन गर्ने उनको प्रतिबद्धता छ।