डडेल्धुरा — नेपाली कम्युनिस्ट पार्टी डडेल्धुराका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मान सिंह माल ले डडेल्धुराको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
सार्वजनिक प्रतिबद्धतापत्रमा डडेल्धुरालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, उद्योग, रोजगारी र सुशासनको क्षेत्रमा रूपान्तरण गर्ने लक्ष्य समेटिएको छ।
प्रतिबद्धतापत्र अनुसार शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय सुदृढीकरण, प्राविधिक तथा सीपमूलक शिक्षा विस्तार, गरिब तथा दलित विद्यार्थीका लागि निःशुल्क शिक्षा र छात्रवृत्ति व्यवस्था तथा डडेल्धुरालाई शैक्षिक–प्राविधिक हबका रूपमा विकास गर्ने योजना समावेश गरिएको छ।
स्वास्थ्य क्षेत्रमा डडेल्धुरा अस्पताललाई विशेषज्ञ सेवा केन्द्रका रूपमा विकास गर्ने, पालिकास्तरीय अस्पताल सुदृढीकरण, ग्रामीण क्षेत्रमा मोबाइल स्वास्थ्य सेवा र टेलिमेडिसिन सञ्चालन तथा मातृशिशु र मानसिक स्वास्थ्यमा विशेष कार्यक्रम लागू गर्ने उल्लेख छ।
खानेपानी, सिँचाइ र विपद् व्यवस्थापनमा प्रत्येक घरमा सुरक्षित खानेपानी, बाढी–पहिरो जोखिम न्यूनीकरण, तटबन्ध निर्माण र सुरक्षित बस्ती विकासलाई प्राथमिकतामा राखिएको छ।
पूर्वाधार विकास अन्तर्गत मुख्य तथा ग्रामीण सडक स्तरोन्नति, सबै मौसममा चल्ने सडक सञ्जाल विस्तार, पर्यटकीय सडकको विकास र राष्ट्रिय गौरवका योजनालाई गति दिने प्रतिबद्धता उल्लेख गरिएको छ।
कृषि, पशुपालन र उद्योग क्षेत्रमा नगदे बाली, जडीबुटी, पशुपालन र कृषि प्रशोधन उद्योग स्थापना, किसानलाई बीउ, मल, सिँचाइ र बजारको सुनिश्चितता तथा स्थानीय उद्योगमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य समेटिएको छ।
पर्यटन र संस्कृतिमा धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थलको पहिचान तथा प्रवर्द्धन, होमस्टे र आन्तरिक पर्यटन विकास, स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणलाई प्राथमिकता दिइएको छ।
युवा, सञ्चार र खेलकुदमा डिजिटल सेवा विस्तार, सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन, खेलमैदान र खेलकुद पूर्वाधार निर्माण समावेश गरिएको छ।
महिला, बालबालिका र लक्षित समुदायका लागि महिला हिंसा र बालविवाह अन्त्य, सामाजिक सुरक्षा प्रभावकारी कार्यान्वयन, सुरक्षित आवास तथा आयआर्जन कार्यक्रमलाई प्रतिबद्धतापत्रमा समेटिएको छ।
प्रतिबद्धतापत्रमा सुशासन, पारदर्शिता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र जनप्रतिनिधिको उत्तरदायित्वलाई मूल आधारका रूपमा प्रस्तुत गरिएको छ।