डडेल्धुरा - नेपालको समकालीन राजनीतिक इतिहासमा आमूल परिवर्तनको आधार बनेको जनयुद्धको स्मरण गर्दै नेपाली कम्युनिष्ट पार्टी आलिताल गाउँ कमिटीले ३१औँ जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ। जनताको अधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रका लागि गरिएको ऐतिहासिक संघर्षको सम्मानस्वरूप आयोजित कार्यक्रममा जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।
शुक्रबार सम्पन्न कार्यक्रममा शहीदहरूको तस्वीरमा माल्यार्पण गर्दै उनीहरूले देखाएको मार्गदर्शन र बलिदानलाई स्मरण गरिएको थियो। कार्यक्रममा आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरा ‘मन्जु’, नेकपा आलिताल गाउँ कमिटी अध्यक्ष छबिलाल थापा, नेता अमर बोगटी ‘सुशील’लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले जनयुद्धका शहीदहरूको योगदानलाई उच्च सम्मान गर्दै सामाजिक न्याय, समावेशी विकास र जनअधिकारको पक्षमा पार्टीको प्रतिबद्धता दोहोर्याए। उनीहरूले शहीदहरूको सपना साकार पार्न जनताको जीवनस्तर सुधार र लोकतान्त्रिक अभ्यास सुदृढ गर्न निरन्तर संघर्ष आवश्यक रहेको धारणा व्यक्त गरे।
वि.सं. २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध वि.सं. २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौतासँगै औपचारिक रूपमा शान्ति प्रक्रियामा रूपान्तरण भएको थियो। दशकौँ लामो सशस्त्र द्वन्द्वपछि भएको उक्त सम्झौताले मुलुकलाई नयाँ राजनीतिक अध्यायतर्फ अग्रसर गराएको मानिन्छ।
गणतन्त्र स्थापना, संघीय शासन प्रणालीको कार्यान्वयन, समावेशी लोकतन्त्रको अभ्यास तथा सामाजिक न्यायका एजेन्डाहरू जनयुद्ध र त्यसपछिका जनआन्दोलनहरूको बलमा संस्थागत भएको विश्लेषण गरिन्छ।
जनयुद्ध दिवसका अवसरमा यिनै ऐतिहासिक उपलब्धिहरूलाई स्मरण गर्दै शहीदहरूको अमूल्य योगदानको कदर गरिएको आयोजकहरूले जनाएको छ।