डडेल्धुरा - डडेल्धुराका स्वतन्त्र उम्मेदवार गौरव ऐरले चुनावी घरदैलो अभियान तीव्र बनाएका छन। ऐरले डडेलधुराको नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियान तीव्र पारेका छन्। अभियानका क्रममा ऐरले मतदातासँग भेटघाट गर्दै आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्।
शनिबार नवदुर्गा गाउँपालिका–३ डाडाबनमा आयोजित घरदैलो कार्यक्रममा ऐरले मतदातासँग प्रत्यक्ष संवाद गर्दै रोजगारी, शिक्षा, स्वास्थ्य र भ्रष्टाचारजस्ता विषयमा आफ्ना धारणा राखे। उनले भने,
“यो चुनाव व्यक्तिगत लाभका लागि होइन, नागरिकको भविष्य सुरक्षित गर्ने उद्देश्यले लडिएको हो।”
स्थानीयवासीहरूले ऐरलाई युवाको प्रतिनिधि उम्मेदवारका रूपमा हेरेको बताएका छन्। वृद्धदेखि युवासम्मले घरदैलो कार्यक्रममा सहभागिता जनाएका थिए।
ऐरका अनुसार देशमा बढ्दो बेरोजगारी र भ्रष्टाचारका कारण युवामा निराशा बढ्दै गएको छ।
“अब युवाले जिम्मेवारी लिनुपर्ने समय आएको छ,” उनले भने।
घरदैलो अभियानमा सामाजिक अभियन्ता सुरत तमौली, मदन बोहरा लगायत युवाहरूको सक्रिय सहभागिता रहेको छ। उनीहरूले यो निर्वाचन परिवर्तनको अवसर भएको बताएका छन्।
ऐरले दलभन्दा माथि उठेर देशका लागि सहकार्य आवश्यक रहेको बताए। डडेलधुरामा जारी निर्वाचन अभियानलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ। घरदैलो कार्यक्रम आगामी दिनहरूमा पनि विभिन्न वडामा निरन्तर सञ्चालन हुने उनले बताए।