डडेल्धुरा - डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ डाँडावनमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। नवदुर्गा युवा सञ्जालको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता महाशिवरात्रि पर्व २०८२ को पावन अवसर पारेर आयोजना गर्न लागिएको समितिका अध्यक्ष मान बहादुर विकले जानकारी दिए।
उनका अनुसार प्रतियोगिता २०८२ फागुन ११ गतेदेखि फागुन १३ गतेसम्म सञ्चालन हुनेछ। शिव मन्दिर नजिकको प्राङ्गणलाई खेल मैदानका रूपमा प्रयोग गरिनेछ। प्रतियोगितामा जिल्लाभित्रका साथै स्थानीय तहबाट पनि विभिन्न टिमहरूको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।
प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमहरूले २०८२ माघ २६ गतेदेखि फागुन २ गतेसम्म टिम दर्ता गर्न सक्नेछन्। टिम दर्ता शुल्क रु. ३,५०० तोकिएको छ। स्थानीय खेलाडीलाई प्राथमिकता दिँदै स्वस्थ प्रतिस्पर्धामार्फत खेलकुद विकास गर्ने उद्देश्य आयोजकको रहेको छ।
प्रतियोगितालाई अझ आकर्षक बनाउन आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ९९,९९९, द्वितीय हुनेले रु. ५५,५५५ र तृतीय हुने टिमले रु. ३३,३३३ पुरस्कार प्राप्त गर्नेछन्। साथै शिल्ड, मेडल, प्रमाणपत्र र विधागत पुरस्कारसमेत प्रदान गरिने छ।
नवदुर्गा युवा सञ्जालले यस प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै आपसी सद्भाव, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक समितिका अध्यक्ष मान बहादुर विक तथा महासचिव वीर बहादुर खातीसँग सम्पर्क गर्न सकिने जनाइएको छ।
