डडेल्धुरा: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुरामा उम्मेद्बारी दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका अनुसार मंगलबार एकै दिन १३ जनाले मनोनयन दर्ता गराएका छन्।
दर्ता भएका उम्मेदवारमध्ये १० जना विभिन्न राजनीतिक दलका प्रतिनिधि हुन् भने ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। दलतर्फ नेपाली कम्युनिस्ट पार्टी बाट मान सिंह माल (एमाले)बाट चक्रप्रसाद स्नेही, नेपाली कांग्रेसबाट नैनसिंह महर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. ताराप्रसाद जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायतले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी आम जनता पार्टीका खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीका महेन्द्र पुनले पनि निर्वाचन मैदानमा प्रवेश गरेका छन्।
स्वतन्त्रतर्फ गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले जानकारी दिए।
यसपटक पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी नदिएपछि डडेल्धुराको राजनीतिक प्रतिस्पर्धा नयाँ मोडमा अगाडी बढने देखीएको छ ।
देउवाको अनुपस्थितिसँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन्। आगामी दिनमा उम्मेदवारहरूको चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ।