सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीको आयोजनामा प्रहरी हाप्किडो रक्षात्मक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त तालिम कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमबहादुर रानाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।
प्रहरी सेवामा कार्यरत जनशक्तिको मनोबल अभिवृद्धि, आत्मरक्षा क्षमताको विकास, तथा व्यावसायिक दक्षता र कार्य सम्पादन क्षमतालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा सुदूरपश्चिम प्रदेश अन्तर्गत विभिन्न प्रहरी कार्यालयहरूबाट आएका २६४ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिम अवधिभर सहभागी प्रहरी कर्मचारीहरूलाई आत्मरक्षा (Self-Defense), अपराधी नियन्त्रण तथा पक्राउ प्रविधि (Arrest Techniques) र नियन्त्रण रणनीति (Control Tactics) सम्बन्धी व्यावहारिक तथा संरचित प्रशिक्षण प्रदान गरिएको थियो । दैनिक प्रहरी कार्यमा आइपर्ने जोखिमपूर्ण परिस्थितिहरूमा सुरक्षित र प्रभावकारी रूपमा काम गर्न सक्ने क्षमताको विकास तालिमको मुख्य उद्देश्य रहेको बताइएको छ ।
तालिममा नेपाल हाप्किडो संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक कालीबहादुर घर्ती मगरको नेतृत्वमा प्रशिक्षण प्रदान गरिएको थियो । साथै, अन्तर्राष्ट्रिय प्रशिक्षक प्रविण गुरुङ, वरिष्ठ प्रशिक्षक राजेन्द्र मडै, र प्रशिक्षक रमेश हम्जली मगरले सहभागी प्रहरी कर्मचारीहरूलाई व्यावहारिक अभ्यास सहित प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले प्रहरी सेवामा हाप्किडो तालिमको आवश्यकता, उपयोगिता र व्यवहारिक प्रयोगका बारेमा समेत विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, प्रहरी उपरीक्षक (एसपी) विरेन्द्र थापालगायत अन्य वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वरिष्ठ अधिकृतहरूको सक्रिय सहभागिता र उत्साहवर्धनले तालिम कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।
तालिम समारोहमा बोल्दै प्रमुख अतिथि डिआइजी ओमबहादुर रानाले प्रहरी सेवामा शारीरिक तन्दुरुस्ती, आत्मरक्षा सीप र व्यावसायिक दक्षताको महत्व उल्लेख गर्दै यस्ता तालिम कार्यक्रमहरूले प्रहरी कर्मचारीहरूलाई अनुशासित, सक्षम र आत्मविश्वासी बनाउने बताए । उनले भविष्यमा पनि यस्ता व्यावहारिक तालिमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी तालिम समारोहमा बोल्दै नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले भने, प्रहरी सेवामा शारीरिक तयारी र आत्मरक्षा सीपको विकास अनिवार्य छ । हाप्किडो तालिमले प्रहरी कर्मचारीहरूलाई मात्र आत्मरक्षामा सक्षम बनाउँदैन, उनीहरूको मनोबल बढाउँछ र कार्य सम्पादनमा थप दक्षता ल्याउँछ । यस्तो तालिमले दैनिक ड्युटीमा जोखिमपूर्ण परिस्थितिहरूलाई सुरक्षित र प्रभावकारी रूपमा सामना गर्न सहयोग पुर्याउँछ । उनले थपे कि, भविष्यमा पनि हामी यस्ता तालिमहरूलाई निरन्तरता दिई प्रहरी सेवाको स्तर उकास्ने प्रयास गर्नेछौं ।
कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, प्रहरी उपरीक्षक (एसपी) विरेंद्र थापालगायत अन्य वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तालिममा सहभागी प्रहरी कर्मचारीहरूले हाप्किडो तालिमले दैनिक ड्युटीका क्रममा आइपर्ने चुनौतीहरू सामना गर्न आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यस्ता तालिमले प्रहरी सेवाको गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा पनि प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रकारका व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।