डडेल्धुरा - डडेल्धुराको भागेश्वर गाउँपालिका–४ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाइ साइबर अपराध, मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा सरोकारवाला निकाय, शिक्षक तथा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूबीच कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालय डडेल्धुराका प्रमुख महेशदत्त अवस्थिले साइबर अपराधसम्बन्धी रेकर्डको विस्तृत जानकारी प्रस्तुत गरे। उनेले पछिल्लो समय बैंकिङ ठगी, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, पासपोर्ट चोरी, ह्याकिङलगायतका साइबर अपराधका घटना तीव्र रूपमा बढिरहेको डाटा प्रस्तुत गरे। डिजिटल माध्यम प्रयोग गर्दा सचेत र सुरक्षित व्यवहार अपनाउनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत विवरण, ओटीपी, पासवर्ड तथा अनलाइन कारोबारमा कुनै पनि लापरवाही नगर्न विद्यार्थीहरूलाई आग्रह गरे ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म हे.क्वा. डडेल्धुराका प्रमुख प्रकाशचन्द्र भट्टले मानसिक तथा शारीरिक स्वास्थ्यसम्बन्धीको रेकर्डको प्रस्तुत गर्दै डिप्रेसन (अवसाद) का कारण, लक्षण र समाधानबारे जानकारी गराए। मानसिक समस्या कमजोरी नभई उपचारयोग्य स्वास्थ्य समस्या भएको उल्लेख गर्दै समयमै सहयोग र उपचार लिनु आवश्यक रहेको भनाइ थियो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO) का तथ्यांक प्रस्तुत गर्दै मानसिक स्वास्थ्यको विश्वव्यापी गम्भीर अवस्था औँल्याइएको थियो। WHO का अनुसार प्रत्येक पाँच जनामध्ये एक जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गर्दछ भने मानसिक समस्या भएका चार जनामध्ये तीन जनाले उपचार नपाउने अवस्था रहेको छ। Global Burden of Disease Study 2015 अनुसार Anxiety (चिन्ता) र Depression (अवसाद) विश्वव्यापी रोगको सूचीमा क्रमशः तेस्रो र नवौँ स्थानमा रहेका छन्। सन् २०३० सम्ममा Depression विश्वकै पहिलो स्थानमा पुग्ने अनुमान गरिएको छ।
युवाहरूको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको उल्लेख गर्दै विश्वभर हरेक वर्ष करिब ७ देखि ९ लाख मानिसहरूले आत्महत्या गर्ने तथ्य प्रस्तुत गरिएको थियो। विश्वव्यापी तथ्यांकअनुसार हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने र हरेक ३ सेकेन्डमा आत्महत्याको प्रयास हुने गर्दछ। एक आत्महत्याले करिब १३५ जनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गहिरो पीडा दिने उल्लेख गरिएको थियो।
नेपालको सन्दर्भमा, नेपाल प्रहरीका अनुसार हरेक दिन १८ भन्दा बढी आत्महत्याका घटना हुने गरेका छन्, जसमा ५६ प्रतिशत युवा रहेको तथ्य चिन्ताजनक रहेको बताइएको छ। आत्महत्याका प्रमुख कारणमा पारिवारिक कलह, सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक लेनदेन, आवेग, गरिबी, प्रेममा धोका, व्यवसायिक तनाव, असफलता, नैराश्यता तथा दीर्घकालीन मानसिक रोग रहेका छन्।
कार्यक्रममा नेपाल प्रहरीका डीएसपी बरुणबहादुर सिंहले लागूऔषधका प्रकार, त्यसका दुष्प्रभाव, ओसारपसारको अवस्था तथा प्रचलित कानुनी सजायबारे प्रस्तुतीकरण गरेका थिए।
सामाजिक विकास कार्यालय डडेल्धुराको समन्वयमा नेपाल प्रहरीसँगको साझेदारीमा सञ्चालन गरिएको यो कार्यक्रम लागुऔषध तथा आत्महत्या विरुद्धको जनचेतना कार्यक्रम अन्तर्गत आयोजना गरिएको सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीन बहादुर लामिछानेले जानकारी दिए। कार्यक्रमले विद्यार्थी र समुदायमा साइबर सुरक्षा, मानसिक स्वास्थ्यप्रति सचेतना र जीवनप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको लामिछानेको भनाइ छ।
सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला, जिल्लास्थित सञ्चारकर्मी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।