डडेल्धुरा । सुदूरपश्चिम प्रदेश हाप्किडो संघको आयोजनामा राष्ट्रिय हाप्किडो कौशल विकास सेमिनार–२०८२ डडेल्धुराको आलिताल गाउँपालिकामा सञ्चालन हुने भएको छ। उक्त सेमिनार पौष १७ गतेदेखि १९ गतेसम्म तीन दिनसम्म आयोजना गरिनेछ।
हाप्किडो खेलको समग्र विकास, खेलाडी तथा प्रशिक्षकहरूको सीप अभिवृद्धि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यका साथ सेमिनार आयोजना गरिएको हो। सेमिनारमा हाप्किडो अभ्यासकर्ता, प्रशिक्षक तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।
सेमिनारमा सहभागीहरूले उन्नत हाप्किडो प्रविधि, आत्मरक्षा सीप, शारीरिक तथा मानसिक तयारीका विषयमा विशेष प्रशिक्षण प्राप्त गर्नेछन्। व्यावहारिक अभ्यास, समूहगत प्रशिक्षण सत्र तथा व्यक्तिगत निर्देशनमार्फत सहभागीहरूले आफ्नो कौशललाई अझ निखार्ने अवसर पाउनेछन्।
नेपाल हाप्किडो संघले सेमिनारलाई औपचारिक रूपमा अनुमोदन गरिसकेको छ। संघको अनुमोदनले सेमिनारलाई राष्ट्रिय स्तरको मान्यता प्राप्त भएको छ, जसले हाप्किडो खेलको संस्थागत विकासमा थप बल पुग्ने विश्वास गरिएको छ।
सुदूरपश्चिम प्रदेश हाप्किडो संघका अध्यक्ष राजेन्द्र मडैले सेमिनारले राष्ट्रिय हाप्किडो खेलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले भने, “यो सेमिनारले खेलको स्तर उच्च बनाउने मात्र होइन, नयाँ प्रतिभाहरूको पहिचान र विकासमा पनि उल्लेखनीय योगदान पुर्याउनेछ।”
सेमिनारमा देशभरका अनुभवी प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षकहरूको जमघटले हाप्किडो खेलप्रति युवाहरूको आकर्षण बढाउने तथा नेपालमा हाप्किडोको लोकप्रियता विस्तार गर्ने अपेक्षा गरिएको छ।
आलिताल गाउँपालिकामा आयोजना हुन लागेको यो राष्ट्रिय सेमिनारले स्थानीय तहमा खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै डडेल्धुरालाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा चिनाउने अवसरसमेत प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।