सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्म प्राकृतिक विपद्ले ठूलो क्षति पुर्याएको छ। यस अवधिमा भएका ३२७ वटा विपद् घटनाबाट ७ करोड ५० लाख २० हजार १०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेश आकस्मिक कार्य सञ्चालन केन्द्र, धनगढीले संकलन गरेको तथ्यांकअनुसार प्रदेशका विभिन्न जिल्लामा आगलागी, भारी वर्षा, बाढी, सर्पदंश तथा जनावर आतंकका घटनाले जनधनमा उल्लेखनीय क्षति पुर्याएका हुन्। उक्त अवधिमा ९२ वटा आगलागीका घटना भएका छन्, जुन सबै विपद् घटनामध्ये सबैभन्दा धेरै हो।
आगलागीका कारण २ महिलाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। आगलागीबाट मात्रै ७ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ, जसले कुल क्षतिमा आगलागीको हिस्सा अत्यधिक रहेको देखाउँछ।
प्रदेशमा ४४ वटा भारी वर्षाका घटना घटेका छन्। ती घटनाबाट २ महिलाको मृत्यु र ४ जना घाइते भएका छन्। साथै ५३ परिवार प्रभावित भएका छन् भने २२ लाख ८० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। त्यसैगरी, ११ वटा बाढीका घटनामा २ जनाको मृत्यु भएको छ।
बाढीबाट ३३१ परिवार प्रभावित भएका छन् भने ७० वटा पशुचौपायामा क्षति पुगेको छ। यस अवधिमा ८६ वटा सर्पदंशका घटना भएका छन्। सर्पदंशकै कारण ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ, जसले ग्रामीण क्षेत्रमा सर्पदंश अझै पनि गम्भीर जोखिमको रूपमा रहेको देखाउँछ। त्यस्तै, जनावर आतंकका ५६ वटा घटना घटेका छन्। ती घटनाबाट १ पुरुष र १ महिला गरी २ जनाको ज्यान गएको छ।
लगातार बढ्दो विपद्का घटनाले सुदूरपश्चिम प्रदेशमा जोखिम न्यूनीकरण, पूर्वतयारी र उद्धार व्यवस्थापनमा अझै चुनौती रहेको संकेत गरेको छ। प्रदेश आकस्मिक कार्य सञ्चालन केन्द्रले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय, जनचेतना अभिवृद्धि तथा पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
पाँच महिनामै साढे सात करोडभन्दा बढीको क्षति हुनु सुदूरपश्चिमका लागि गम्भीर चिन्ताको विषय बनेको छ।