डडेल्धुरा - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले सुदूरपश्चिम प्रदेशभर गर्न लागेको वृहत एकता सन्देश अभियान अन्तर्गत डडेल्धुरा जिल्लामा आयोजना हुने पहिलो सभाको तयारीलाई तीव्र रूपमा अगाडि बढाएको छ। शनिबार नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा एक तयारी बैठक सम्पन्न भएको छ।
मुल आयोजक कमिटीका संयोजक उमेश भट्ट 'विकास'ले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशभरका सबै जिल्लामा गरिने एकता सन्देश सभाको औपचारिक शुभारम्भ डडेल्धुराबाट मंसिर २४ गते हुने निश्चित भएको छ। यसै क्रममा तयारी बैठकले मंसिर २४ गते डडेल्धुरा सदरमुकामको बसपार्कमा एक वृहत एकता सन्देश सभा गर्ने निर्णय गरेको छ, जसको आयोजना नेपाली कम्युनिस्ट पार्टी डडेल्धुराले गर्नेछ।
यो वृहत सभामा पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री भीम रावल, खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाह लगायतका शीर्ष नेताहरूको भव्य उपस्थिति रहनेछ। यस महत्वपूर्ण अवसरमा सम्पूर्ण पार्टी कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका सदस्यहरू, समर्थक, शुभचिन्तक तथा आम जनसमुदायलाई उत्साहजनक उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रमलाई व्यवस्थित र सफल बनाउनका लागि उमेश भट्ट 'विकास'को संयोजकत्वमा तथा सुरेन्द्र बिष्ट र कबिन्द्र बिष्ट सहसंयोजक रहेको मुल आयोजक कमिटी गठन गरिएको छ।
मुल आयोजक कमिटी अन्तर्गत सभालाइ व्यवस्थापन गर्न आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा, मञ्च व्यवस्थापन, र स्वयंसेवक उपसमितिहरू समेत निर्माण गरिएको छ। यी उपसमितिहरूले सभाको सम्पूर्ण तयारी र व्यवस्थापनलाई कुशलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी लिएका छन्। यो एकता सन्देश सभाले डडेल्धुरामा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूबीचको एकता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको सहसंयोजक सुरेन्द्र बिष्टले बिश्वास गरे।