सुदूरपश्चिमको अपिहिमाल गाउँपालिका पर्यटन विकासमा उत्कृष्ट ठहरिँदै नेपाल सरकारले राष्ट्रियस्तरमा सम्मानित गरेको छ।
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार आयोजित कार्यक्रममा सचिव हरिप्रसाद मैनालीले गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र प्रदान गरे।
मुख्य समारोहमा उपस्थित हुन नसकेकाले मन्त्रालयले छुट्टै कार्यक्रम गरी सम्मान गरेको हो। गाउँपालिकाले पछिल्ला तीन वर्षमा पर्यटन पूर्वाधार, पदयात्रा, हिमाल आरोहण र कृषि पर्यटनमा उल्लेखनीय प्रगति गरेको छ।
‘अर्ग्यानिक अपि’ अभियानमार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्दै जीविकोपार्जनमा टेवा दिइएको छ भने नेपाल पर्यटन बोर्ड र युएनडिपीसँग सहकार्यमा मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ। सो केन्द्रले पर्यटक सूचना र स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
गाउँपालिकाले पर्यटनलाई रोजगारी, शिक्षा र स्वास्थ्य विकाससँग जोडेको छ। होमस्टे, होटल व्यवसाय र कन्टेन्ट निर्माणमा स्थानीय युवा सक्रिय छन्। अध्यक्ष बोहराले यो सम्मानले अपिहिमाललाई “अर्ग्यानिक र पर्यटन गाउँपालिका” को रूपमा स्थापित गर्न प्रेरणा मिलेको बताए।
अपिहिमाल पर्यटन सद्भावना दूत हिमालय भट्ट र काठमाडौँस्थित पर्यटन व्यवसायीहरूले पनि यस क्षेत्रको प्रवर्द्धनमा योगदान दिँदै आएका छन्। गाउँपालिकाले आगामी दिनमा अपिदेखि सैपाल हिमालसम्मको पर्यटन अवधारणालाई अघि बढाउने तयारी गरेको छ।
२०८० असोज १० गते (सेप्टेम्बर २७) अपिहिमाल आधार शिविरमा तत्कालीन पर्यटन मन्त्री रमेश धामीको उपस्थितिमा पर्यटन भ्रमण वर्ष उद्घाटन गरेको गाउँपालिकाले दुई वर्षपछि सोही दिन राष्ट्रिय सम्मान पाएको हो।