नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशका विद्यमान जटिलता, जनअपेक्षा र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सम्पूर्ण माओवादी धारसहितका वामपन्थी शक्तिहरूलाई एकै कम्युनिस्ट झण्डामुनि एकताबद्ध हुन आह्वान गर्नुभएको छ।
आज फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै प्रचण्डले देशमा देखिएका राजनीतिक जटिलता र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि परेका चुनौतीहरूको समाधानका लागि 'अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी' अपरिहार्य रहेकोमा जोड दिनुभएको छ।
प्रचण्डको वक्तव्यमा देश, जनता र लोकतन्त्रले भोगिरहेका समस्याहरूको समाधानका लागि देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याइएको छ।
उहाँले भन्नुभएको छ, "राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो।" यसका लागि सम्पूर्ण माओवादी धारलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि गोलबन्द हुन उहाँले हार्दिक अपिल गर्नुभएको छ।
वामपन्थी एकतासँगै प्रचण्डले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनता सुनिश्चित गर्नका लागि सबै गणतान्त्रिक शक्तिलाई पनि राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्नुभएको छ। यसले वामपन्थी ध्रुवीकरणसँगै लोकतान्त्रिक शक्तिहरूसँगको व्यापक सहकार्यको नीतिलाई पनि जोड दिएको देखिन्छ।