डडेल्धुरा, असोज ३१ (२०८२): "प्रहरी मेरो साथी" भन्ने मूल नाराका साथ ७०औं प्रहरी दिवस, २०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले आज श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुण बहादुर सिंहको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अमर प्रहरीको योगदानको उच्च प्रशंसा गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डीएसपी सिंहले अमर प्रहरीका आश्रित परिवारजनहरूलाई कदरपत्र प्रदान गर्दै देश र जनताको सुरक्षामा अमरत्व प्राप्त गर्ने वीर प्रहरीहरूको बलिदानीपूर्ण योगदान सधैं स्मरणीय रहने बताउनुभयो।
श्रद्धाञ्जली कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि सिंहसहित उपस्थित सबैले कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी शोक सलामी अर्पण गरेका थिए। त्यसैगरी, उपस्थित प्रहरी अधिकृत, जवान, अमर प्रहरीका परिवारजन तथा पूर्व प्रहरीहरूले पनि पुष्पगुच्छा अर्पण गरी वीर अमर प्रहरीहरूको सम्झना गरेका थिए।
कार्यक्रममा पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, अमर प्रहरीका आश्रित परिवारजन, अशक्त पूर्व प्रहरी, पूर्व प्रहरी कर्मचारी तथा हाल कार्यरत प्रहरी कर्मचारीहरूको बाक्लो उपस्थिती रहेको थियो।
सोही अवसरमा प्रहरी कार्यालयमा सञ्चालित आन्तरिक ब्याडमिन्टन प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरूलाई प्रमुख अतिथिले प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रममा प्रहरी निरीक्षक डम्बर बिष्टले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको शुभकामना सन्देश वाचन गरी सुनाउनुभएको थियो।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि डीएसपी सिंहले कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै श्रद्धाञ्जली, सम्मान र सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रम जलपानका साथ समापन भएको थियो।