नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा अहिले वाईसीएल (योङ कम्युनिस्ट लिग) का पूर्वलडाकु पृष्ठभूमिका कार्यकर्ताहरू खटिएका छन् ।
सरकारले प्रचण्डको सुरक्षामा खटाइएको सुरक्षाकर्मी फिर्ता लिएपछि वाईसीएलले आफ्नै टोलीमार्फत सुरक्षा व्यवस्था गरेको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै संयोजक प्रचण्डलाई सुरक्षा चुनौती हुनसक्ने आकलन गरिएको छ । उनले भने, “हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं ।”
स्रोतका अनुसार प्रचण्डको सुरक्षामा तीन तहको सुरक्षा घेरो बनाइएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिम प्राप्त पूर्वलडाकुहरू छन्, जसले नजिकबाट सुरक्षा गर्छन् । दोस्रो तहमा फिल्डमा सक्रिय वाईसीएल टोली परिचालन गरिएको छ भने तेस्रो तहमा गोप्य सूचना संकलनका लागि ‘इन्टेलिजेन्स’ जस्तो भूमिका निर्वाह गर्ने छुट्टै समूह खटाइएको छ ।
प्रचण्डको यात्राका क्रममा स्कर्टिङका लागि केन्द्र र सम्बन्धित जिल्लामा रहेका वाईसीएलका विशेष टोली तयारी अवस्थामा राखिएको छ । प्रचण्ड निकट स्रोतका अनुसार सुरक्षामा खटिने जनशक्ति परिस्थिति र आवश्यकताअनुसार घटबढ गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
वाईसीएलका पूर्वअध्यक्ष तथा इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ का अनुसार शुक्रबार बिहान १० बजेदेखि प्रचण्डको सुरक्षार्थ खटिएका सरकारी सुरक्षाकर्मीहरू फिर्ता भइसकेका छन् । अब नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमित संख्यामा मात्र सुरक्षा दिनेछन् भने बाँकी जिम्मेवारी वाईसीएल र पूर्व जनमुक्ति सेनाले सम्हाल्नेछन् ।
१० वर्ष लामो जनयुद्धपछि माओवादीले शान्ति प्रक्रियामा आएपछि पूर्वलडाकुहरूलाई समेत समेटेर वाईसीएल गठन गरेको थियो । तीमध्ये धेरै सदस्य अहिले पनि लडाकु पृष्ठभूमिका रहेका छन् ।