डडेल्धुरा। — डडेल्धुराको आलिताल गाउँपालिकाले युवा तथा खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले “द्वितीय अध्यक्ष–उपाध्यक्ष कप भलिबल तथा क्रिकेट प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ।
बिहिवार गाउँपालिका कार्यालय आलितालबाट प्रकाशित सूचनाअनुसार प्रतियोगिता २०८२ मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म गाउँपालिकाको खेल मैदानमा सञ्चालन गरिनेछ।
गाउँपालिकाले खेलकुदलाई सामाजिक सद्भाव, स्वास्थ्य र प्रतिभा विकाससँग जोड्दै यो प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ।
यस प्रतियोगितामा भलिबल (पुरुष तथा महिला) र क्रिकेट (पुरुष) दुवै विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष तथा महिला दुवै समूहका विजेताहरूका लागि समान पुरस्कारको व्यवस्था गरिएको छ।
भलिबलतर्फ प्रथम हुने टोलीलाई रु. ६५,०००/- (पैंसठ्ठी हजार) नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
द्वितीय हुने टोलीले रु. ५२,०००/- (बाउन्न हजार) र तृतीय हुने टोलीले रु. ३९,०००/- (उनन्चालीस हजार) नगद पुरस्कार प्राप्त गर्नेछन्।
दुवै समूहका उत्कृष्ट खेलाडीलाई विशेष सम्मानका रूपमा रु. ३,०००/- नगदसहित पुरस्कार दिइनेछ।
पुरुष क्रिकेटतर्फको विजेता टोलीले रु. ६५,०००/- नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने द्वितीय टोलीले रु. ५२,०००/- प्राप्त गर्नेछ।
त्यसैगरी, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर र इमर्जिङ प्लेयरका लागि पनि रु. २,०००/-देखि रु. ३,०००/- सम्मको नगद पुरस्कार तोकिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले मंसिर २६ गतेभित्र आवश्यक कागजातसहित आवेदन बुझाउनुपर्नेछ। प्रत्येक टिमका लागि प्रवेश शुल्क रु. १,५००/- (एक हजार पाँच सय) तोकिएको छ, जसलाई आलिताल गाउँपालिकाको आन्तरिक राजस्व खाता नं. ०६८०१०१७५००४४९, अनित्तपाल शाखामा जम्मा गरी भौचर संलग्न गरेर आवेदन दिनुपर्नेछ।
भलिबल खेल टेनिस बलमा खेलिनेछ भने क्रिकेटमा प्रत्येक टिममा १६ जना खेलाडी र एक जना व्यवस्थापकसहित १७ जना रहने व्यवस्था गरिएको छ।
खेलाडीहरू सम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपर्नेछ। साथै विद्यालयस्तरका विद्यार्थी, कार्यरत शिक्षक, कर्मचारी वा वडा/संघ/संस्था/क्लबहरूबाट प्रमाणित भएर आएका व्यक्तिहरूलाई मात्र प्रतियोगितामा सहभागी हुन दिइनेछ।
आलिताल गाउँपालिकाले खेलकुदलाई गाउँस्तरमा सशक्त माध्यमका रूपमा विकास गर्ने उद्देश्यले यस प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ। गाउँपालिकाले यस कार्यक्रममार्फत युवा पुस्तामा खेलप्रतिको रुचि, शारीरिक स्वास्थ्य र आपसी सद्भाव बढाउने अपेक्षा व्यक्त गरेको छ।
गाउँपालिकाका अनुसार खेलसम्बन्धी अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार आयोजक समितिमा सुरक्षित रहने जनाएको छ।
प्रतियोगिताले आलितालका स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नुका साथै गाउँपालिकाभित्र स्वस्थ प्रतिस्पर्धा र एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ।