डडेल्धुरा – डडेल्धुरामा दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउन "यात्रु सहायता कक्ष" स्थापना गरिएको छ। चाडपर्वमा हुनसक्ने सम्भावित अपराध, ठगी, दुर्व्यवहार र अन्य समस्यालाई नियन्त्रण गर्न यो अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख डम्बर बिष्टले बताए ।
आइतबार अमरगढी नगरपालिका अन्तर्गतको बागबजारमा यो सहायता कक्ष सञ्चालनमा आएको हो। यात्रुको चापलाई ध्यानमा राखि स्याउले र तुफानडाँडामा पनि यस्ता कक्षहरू स्थापना गरिएको प्रमुख बिष्टले जानकारी दिए। यी सहायता कक्षहरूले यात्रुहरूको गुनासो तत्काल समाधान गर्ने र सहज यात्राको वातावरण बनाउने उद्देश्य राखेका छन्।
सहायता कक्षको उद्घाटन गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले चाडपर्वमा घर फर्कने यात्रुहरूलाई कुनै पनि किसिमको असहजता नहोस् भन्दै सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिनुभयो। यसले यात्रुलाई ठग्ने, बढी भाडा लिने र अलपत्र पार्ने समस्याहरू कम गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय ट्राफिक प्रहरी कार्यालय, स्थानीय जनप्रतिनिधि, पत्रकार, बुद्धिजीवी र विभिन्न संघसंस्थाहरूको सहभागितामा भएको यस कार्यक्रममा यात्रु सुरक्षालाई प्राथमिकतामा राखीएको छ।यश अभियानमा उच्चाकोटी निर्माण सेवा, सकम्बरी निर्माण सेवा, उग्रतारा यातायात प्रा.लि., नेपाल पत्रकार महासंघ डडेल्धुरा, यातायात व्यवस्था कार्यालय डडेल्धुरा,अमरगढि,उग्रतारा यातायात प्राली डडेल्धुरा,नगरपालिका लगायतका संस्थाहरूको सहकार्य रहेको छ।
डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर बिष्टले यात्रुहरूलाई सुरक्षित यात्रा व्यवहार अपनाउन, आधिकारिक काउन्टरबाट मात्र टिकट लिन, सवारी साधनको छत वा ढोकामा यात्रा नगर्न तथा फरक क्षमता भएका व्यक्ति, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग गर्न आग्रह गर्नुभयो। यी प्रयासहरूले चाडपर्वको यात्रालाई अझ सुरक्षित बनाउने अपेक्षा गरिएको छ।