डडेल्धुरा: नजिकिँदै गरेको दशैं र तिहारलाई ध्यानमा राख्दै डडेल्धुरामा उपभोक्ताको स्वास्थ्य र हित सुनिश्चित गर्न बजार अनुगमनलाई तीव्रता दिइएको छ। शनिबार जिल्ला सदरमुकामका मुख्य बजार क्षेत्र तुफानडाँडा सहित बागबजार क्षेत्रका विभिन्न पसलहरूमा संयुक्त बजार अनुगमन गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको नेतृत्वमा भएको यस अनुगमनमा एउटा पसलमा म्याद गुज्रिएका र अखाद्य वस्तु फेला परेका छन्। घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा भएको अनुगमन टोलीले करिब रु. १३०० बराबरका त्यस्ता सामानहरू जफत गरी नष्ट गरेको छ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग,अमरगढी नगरपालिका डडेल्धुरा,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमन टोलीले विभिन्न किराना पसल, होटल, तरकारी पसल र फ्रेसहाउस सहित २४ वटा पसलमा जाँच ताथा अनुगमन गरेको थियो।
जिल्ला प्रशासन कार्यालयका नासु चन्द्र रोकायाका अनुसार, यस प्रकारको अनुगमनको मुख्य उद्देश्य उपभोक्तालाई ठगी, धोका वा हानि हुनबाट जोगाउनु हो। अनुगमनका क्रममा विशेषगरी निम्न कुराहरूमा ध्यान दिइएको थियो:
• सरकारले तोकेकोभन्दा बढी मूल्य असुलेको छ कि छैन।
• खाद्य सामग्री र उपभोग्य वस्तुको गुणस्तर कायम छ कि छैन।
• म्याद गुज्रिएका सामानको बिक्रीमा रोक लगाउने।
• नाप र तौलमा हुन सक्ने ठगीलाई नियन्त्रण गर्ने।
• बिल दिए/नदिएको र कर छलीको अवस्थाको चेकजाँच आदि ।
अनुगमनका क्रममा केही पसलहरूलाई तत्काल सुधारका लागि सुझाव पनि दिइएको छ। विशेष गरी, तरकारी तथा फलफुलका पसलहरूलाई मूल्यसूची राख्न र होटल र फ्रेसहाउसहरूलाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।
चाडपर्वको समयमा बजारमा अखाद्य वस्तुको बिक्री बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो अनुगमनलाई निरन्तरता दिइने सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताउनुभयो।