डडेल्धुरा - करिब चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ। भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडको परामर्शदाता जेड कन्सल्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया थाल्दै प्रभावित क्षेत्रका स्थानीयलाई घर-जग्गाको विवरण पेश गर्न आग्रह गरेको हो।चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ।
भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडको परामर्शदाता जेड कन्सल्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया थाल्दै प्रभावित क्षेत्रका स्थानीयलाई घर-जग्गाको विवरण पेश गर्न आग्रह गरेको हो।
गत भदौ २२ गतेदेखि सामाजिक प्रभाव अध्ययन सुरु भएको जेड कन्सल्टका सुपरिवेक्षक दिनेशचन्द्र जोशीले जनाए। उनका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा ४ र ५, बैतडीको सिगास गाउँपालिका वडा ५, ६, ७, डोटीको आदर्श गाउँपालिका वडा ३, ५, ६, सायल गाउँपालिका वडा १ तथा बझाङको केदारस्यु गाउँपालिका वडा १, २ र बित्थडचिर गाउँपालिका वडा ९ प्रभावित क्षेत्र रहेका छन्।
यसअघि अष्ट्रेलियन स्मेक र चिनियाँ थ्री गर्जेजले निर्माण अघि नबढाएका कारण अलपत्र बनेको आयोजना अब भारतीय कम्पनीमार्फत अघि बढाउने तयारी भएको हो। लगानी बोर्डले पश्चिम सेतीसँगै डोटी–अछाममा पर्ने ४५० मेगावाट क्षमताको एसआर–६ आयोजना पनि एकै विकासकर्ताले निर्माण गर्दा उत्पादन र पानी व्यवस्थापन सहज हुने दाबी गरेको छ।
जाइका अध्ययनअनुसार पश्चिम सेतीमा ६५२ मेगावाटसम्म बिजुली उत्पादन सम्भावना देखिएको छ भने क्षमता घटाएर २२८ मेगावाटसम्म पनि बनाउन सकिने उल्लेख छ। बाँध, भूगर्भीय संरचना र पुनर्वास जस्ता चुनौतीबीच लामो समयदेखि स्थगित पश्चिम सेती अहिले भारतीय कम्पनीमार्फत अगाडि बढ्ने संकेत देखिएको छ।