डडेल्धुरा, — नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले पत्रकारिता पेसालाई थप मर्यादित, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। शुक्रबार डडेल्धुरा शाखाका अध्यक्ष हिम्मत बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले यी निर्णयहरू गरेको हो।
बैठकले जिल्लाका सबै पत्रकारहरूले कुनै पनि राजनीतिक दल वा संगठनको पद र जिम्मेवारीमा रहन नपाउने निर्णय गरेको छ। यसले पत्रकारिताको विश्वसनीयता कायम गर्न र पत्रकारहरूलाई पेशागत धर्मको पूर्ण पालना गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। महासंघले यस निर्णयको उल्लंघन नगर्न र पत्रकारहरूलाई आफनो पेशा प्रती जवाफदेही बनाउने पहल गरेको छ।
बैठकले महासंघका सदस्य पत्रकारको परिवारमा (आमा, बुबा, श्रीमान, श्रीमती, छोरा, छोरी) कसैको निधन भएमा १० हजार रुपैयाँ शोक तथा किरिया स्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। यसले पत्रकार र उनीहरूको परिवारलाई दुःखको घडीमा सानो भए पनि आर्थिक टेवा पुर्याउनेछ।
महासंघले जिल्लामा सुशासनको प्रवर्द्धन, नागरिक अधिकारको रक्षा, र लोकतान्त्रिक मूल्यमान्यताको कार्यान्वयनका लागि सक्रिय पत्रकारिता गर्ने संकल्प व्यक्त गरेको छ। यसका लागि नागरिक खबरदारी अभियानलाई निरन्तरता दिने निर्णय पनि भएको छ।
यसैगरी, भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा डडेल्धुरामा क्षति पुगेका सरकारी, गैरसरकारी, राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। यस निर्णयले पत्रकार महासंघलाई समाज सेवामा पनि अग्रसर गराएको छ।