नेपालको केन्द्रीय सरकारको प्रशासनिक मुख्यालयको रूपमा रहेको सिंहदरबार देशको इतिहास, कला र राजनीतिक विकासको एक जीवन्त साक्षी हो। आजभन्दा १०७ वर्षअघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले यसको निर्माण सुरु गरेका थिए। करिब एक वर्षभित्रमा नै निर्माण सम्पन्न भएको यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए। २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए।
युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका दुई सिंहका मूर्तिहरूका कारण यसको नाम सिंहदरबार रहन गएको हो। यसको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए। यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ किनभने यसको डिजाइन गर्न पल्लाडियन, कोरिन्थियन, नियोक्लासिकल र बारोक जस्ता युरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट रिफरेन्स लिइएको थियो।
सिंहदरबारले नेपालको इतिहासमा धेरै महत्वपूर्ण घटनाहरू देखेको छ। वि.सं. १९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यहीँ दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए। निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवनलाई प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए। विक्रम संवत् १९८६ मंसिरमा उनको मृत्युपछि पद्म शमशेरबाहेक अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो।
सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए। २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे। २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो। राणा शासनविरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए। त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरिएको थियो।
वि.सं. २०३० सालमा सिंहदरबारमा विद्युत सर्ट भएर आगलागी भयो। त्यस घटनाका कारण मानवीय क्षति नभए पनि परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो। त्यसबेला तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको भनेर राजीनामा दिएका थिए।
यस दरबारले २०७२ सालको भूकम्पमा पनि ठूलो क्षति भोगेको थियो। यस भूकम्पले पूर्वपट्टिको ऐतिहासिक भागहरूमा ठूलो असर पारेको थियो, जसको पुनर्निर्माण गर्न लगभग ५ वर्ष लागेको थियो। यसको पूर्वी भागलाई प्रबलीकरण विधिद्वारा पुनः सबल बनाइएको थियो।
हाल सिंहदरबार नेपालको केन्द्रीय सरकारको प्रशासनिक मुख्यालयको रूपमा रहेको छ, जहाँ विभिन्न महत्त्वपूर्ण मन्त्रालय र सरकारी कार्यालयहरू रहेका छन्। सिंहदरबारको ऐतिहासिक भवनलाई आज पनि देशको गौरव र पहिचानको प्रतीकको रूपमा लिइन्छ। तर गत भाद्र महिनाको २४ गते जेन्जी आन्दोलनमा उक्त राष्ट्रकै गौरव यो भवन जलाइयो र ध्वस्त बनाइयो।