दिपायल सिलगढी नगरपालिका–७ का विद्यालयहरूमा करेसाबारी, दिवा खाजा र भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा अगाडि बढिरहेका छन्। जापान सरकारको विदेश मन्त्रालय (MOFA) को आर्थिक सहयोग, गुड नेवर्स इन्टरनेशनल नेपालसँगको साझेदारीमा सम विकास केन्द्र (EDC) नेपालले चार विद्यालयमा सो परियोजना संचालन गरिरहेको हो।
सोही क्रममा वडा नम्बर ७ पाकरीस्थित दुर्गा माध्यमिक विद्यालयमा छात्रा–मैत्री दुईवटा शौचालय, भान्सा घर, वेष्टकिट, खानेपानी तथा अन्य आवश्यक संरचनाको निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक हिक्मत घलेले जानकारी दिनुभयो। उहाँले यसले विद्यार्थी, शिक्षक र अभिभावकलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको छ। बिहानैदेखि स्वास्थ्यकर्मी एवं अहेब विष्णु बोहराले बालबालिकाको उचाइ, तौल र आँखा परीक्षण गर्नुभएको हो।
यसैगरी, वडा नम्बर ७ स्थित श्री अरुणोदय आधारभूत विद्यालयले करेसाबारीमा उत्पादन भएका तरकारीहरूलाई विद्यार्थीहरूको दिवा खाजामा प्रयोग गर्न थालेको छ। सोही किसिमका निर्माणकार्यहरू सुनादेवी र दिल्पेश्वर माध्यमिक विद्यालयमा पनि अगाडि बढिरहेको परियोजना अधिकृत पदम मिजारले जानकारी दिनुभयो।
निकट भविष्यमा ती विद्यालयका विद्यार्थीहरूले पनि आफ्नै विद्यालयको करेसाबारीमा उत्पादित तरकारी दिवा खाजामा पाउने व्यवस्था हुने उहाँको भनाइ छ।