डडेल्धुरा: डडेल्धुरामा उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै सोमबार जिल्ला सदरमुकामको तुफानडाँडा क्षेत्रका विभिन्न पसलहरुमा संयुक्त बजार अनुगमन गरिएको छ।
अनुगमनका क्रममा केही पसलहरुमा म्याद गुज्रिएका अखाद्य वस्तुहरू फेला परेका छन। सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको नेतृत्वमा गरिएको संयुक्त अनुगमनमा विभिन्न पसलहरूबाट ५ हजार ११५ रुपैयाँ बराबरको अखाद्य बस्तु,सामानहरु नष्ट गरिएको छ भने एक पसललाइ २००० रुपैयाँ जरिवाना समेत गरिएको छ।
संयुक्त अनुगमन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुरा, घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरा, आन्तरिक राजस्व कार्यालय डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय, र पत्रकार महासंघ डडेल्धुराको संयुक्त सहकार्यमा गरिएको हो।
अनुगमन टोलीले किराना पसल, होटल, तरकारी पसलल मासुपसल लगायत विभिन्न १० वटा पसलमा चेकजाँच गरेको थियो। यस क्रममा निम्न समस्याहरू फेला परेका छन्:
केही होटलमा बिक्रीका लागि राखिएको बस्तुहरुमा लेबल र स्टिकर नभएको ।
केहिमा म्याद नाघेका अखाद्य वस्तुहरू फेला परेका छन भने केही पसलमा Sprite र Dew जस्ता पेय पदार्थहरू म्याद गुज्रिएको अवस्थामा भेटिएका थिए।
यस प्रकारको बजार अनुगमनको मुख्य उद्देश्य उपभोक्तालाई ठगी, धोका वा हानि हुनबाट जोगाउनु रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका ना सु चन्द्र रोकायाले बताए। अनुगमन टोलीले विशेषगरी निम्न कुराहरूमा निगरानी राख्ने गरेको छ:
• सरकारले तोकेको वा सहमति गरिएको मूल्यभन्दा बढी असुल गरिएको छ कि छैन।
• खाद्य सामग्री, औषधि, र अन्य उपभोग्य वस्तुको गुणस्तर कायम छ कि छैन।
• म्याद गुज्रिएका सामानको बिक्रीमा रोक लगाउने।
• नाप र तौलमा हुन सक्ने ठगीलाई नियन्त्रण गर्ने।
• बिल दिए/नदिएको र कर छलीको अवस्थाको जाँच गर्ने।
• खानेकुरा, औषधि, र बालबालिकाले प्रयोग गर्ने सामग्रीमा स्वास्थ्यका लागि हानिकारक तत्व छन् कि छैनन् भनेर परीक्षण गर्ने।
अनुगमनका क्रममा केही पसलहरूलाई तत्काल सुधारका लागि सुझाव पनि दिइएको छ। विशेषगरी, तरकारी पसलहरूलाई मूल्यसूची राख्न र होटलहरूलाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। एक पसललाइ भने म्याद गुज्रिएका सामान बेचेको कारण २००० रुपैयाँ जरिवाना पनि गरिएको छ। यस प्रकारको अनुगमनले बजारमा पारदर्शिता र गुणस्तर कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको रोकायाले बताए ।