
डडेल्धुरा । ‘व्यवसायीक र शृजनशिल प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ डडेल्धुरामा २२औं निजामती सेवा दिवस २०८२ भव्य रूपमा मनाइएको छ। जिल्ला प्रशासन कार्यालयको आयोजना र कर्मचारी मिलन केन्द्रको सहयोग तथा समन्वयमा दुई दिने कार्यक्रम गरी यो दिवस मनाइएको हो। यस अवसरमा सामाजिक उत्तरदायित्व, अन्तर्गत स्वास्थ्य, र वातावरण संरक्षणका र खाद्यान्न वितरण कार्यक्रमहरू सम्पन्न भएका छन्।

दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुख तथा कर्मचारीहरू, सुरक्षा निकायका प्रमुख र सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता थियो। दुईदिने कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरियो भने दोस्रो दिन खाद्यान्न वितरण र वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।

विशेषगरी, उग्रतारा वेदविश्रामका बटुकहरूलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न हस्तान्तरण गरिएको थियो। यस सामाजिक कार्यमा योगदान पुर्याएकोमा कर्मचारी मिलन केन्द्र डडेल्धुराका अध्यक्ष करुणाकर अवस्थीले सबैलाई धन्यवाद व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सबैको दायित्व भएको र यस कार्यक्रमले त्यसको सुन्दर उदाहरण प्रस्तुत गरेको बताए।

खाद्यान्न वितरणपछि उग्रतारा मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ। यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी (प्र.जि.अ.) जनार्दन गौतमले वातावरणीय संरक्षणको दृष्टिले यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने र यसलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारीले निजामती कर्मचारीको भूमिकाको प्रशंसा गर्दै निजामती सेवा दिवसले कर्मचारीलाई आफ्नो पेसाप्रति गर्व महसुस गराउने र जनता तथा प्रशासनबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए।

नेपालमा २०६१ सालदेखि मनाउन सुरु गरिएको निजामती सेवा दिवसले हरेक वर्ष कर्मचारीहरूमा सकारात्मक सन्देश प्रवाह गर्दै प्रशासनिक कार्यक्षमता सुधार गर्न मद्दत पुर्याएको प्रजिअ गौतमले बताए ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सरकारी निकाय, सामाजिक संस्था, सञ्चारकर्मी र सुरक्षा निकायप्रति आयोजकले आभार व्यक्त गरेको छ।
