डोटी । सायल गाउँपालिकाको आयोजनामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी लागत संकलन कार्यसम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सायलमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय भूमि समस्या समाधान आयोग डोटीका अध्यक्ष डम्बर बहादुर ओलीले डोटीका सबै स्थानीय तहहरूले लक्षित वर्गसम्म समयमै सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आयोगले पालिकाको सहकार्यमा जिल्लाभर पालिका स्तरका अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिनुभयो।
आयोगका जिल्ला सदस्य सचिव तथा नापी कार्यालय डोटीका प्रमुख केशव चौलागाईका अनुसार जिल्लामा हालसम्म जम्मा ४१४३ जनाको लागत संकलन गरिएको छ। जसमा भूमिहीन दलित ६८३, भूमिहीन सुकुम्बासी ४४० र अव्यवस्थित बसोबासी ३०२० जना रहेका छन्। उहाँले असोज ३ गतेभित्र डेटा संकलन पूरा गर्नुपर्ने भएकाले मौकाको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा सायल गाउँपालिका उपाध्यक्ष निर्मला ओलीले वडाध्यक्षदेखि वडा सचिवसम्म सबैलाई टोलटोलमा सूचना पुर्याउन आग्रह गर्नुभयो। उहाँले सूचना प्रवाह तत्काल सुरु गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
सो अन्तरक्रिया कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोख्रेल, वडा नं. २ का वडाअध्यक्ष मानबहादुर सिंह, वडा नं. ४ का जगतबहादुर सिंह, वडा नं. ५ का बहादुर साउद, गाउँपालिकाका वडा सचिवहरू र कर्मचारीहरूको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण रविन्द्र जोशीले गर्नुभएको थियो।