सुदूरपश्चिम नेपालको प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ‘खप्तड पुगौँ, स्वर्ग भेटौँ’ अभियान सुरु गरिएको छ।
खप्तड पर्यटन विकास व्यवस्थापन समितिको निमन्त्रणामा नेपाल र भारतका पत्रकार तथा मिडियाकर्मीहरूको विशेष टोली खप्तड पुगेको हो। टोलीमा भारतकी पूर्व पत्रकार तथा हाल चर्चित ब्लगर फ्लक (Bhukkad Yatri) मुख्य आकर्षण बनेकी छन्।
समितिका कार्यकारी निर्देशक खेम जोशीका अनुसार यसअघि पनि खप्तडको प्रचार–प्रसार विभिन्न माध्यममार्फत हुँदै आएको थियो। तर यसपटक लाखौँ दर्शक र पाठक भएका प्रभावशाली डिजिटल प्लेटफर्मलाई खप्तड आमन्त्रित गरेर अझ प्रभावकारी प्रचार गर्ने उद्देश्य राखिएको हो।
पहिलो पटक खप्तड पुगेकी ब्लगर फ्लकले आफ्नो अनुभव साझा गर्दै भनिन्, “मैले नेपाल–भारतका धेरै ठाउँ भ्रमण गरेकी छु, तर प्राकृतिक सौन्दर्यका हिसाबले खप्तड साँच्चिकै अनुपम छ। यहाँको अलौकिक दृश्यले मलाई मन्त्रमुग्ध बनाएको छ। यो त स्विजरल्याण्डभन्दा कम छैन।”
उनले आफ्नो ‘भुक्कड यात्री’ पेजमार्फत भिडियो, फोटो र ब्लगमार्फत खप्तडलाई भारतीय दर्शकसमक्ष प्रस्तुत गर्ने तयारी गरेकी छिन्।
यस टोलीमा नेपाल टेलिभिजन, चेतना खबर, रेडियो नेपाल, रेडियो बझाङलगायतका पत्रकारको पनि सहभागिता रहेको छ। टोलीले त्रिवेणी, सहसलिङ, खापरदह ताल, बाबा मन्दिर, घोडा दउना पाटन, नागडुङ्गा र पुलपुला पाटनजस्ता ख्यातिप्राप्त स्थलको अडियो–भिडियो सामग्री तयार गरी विभिन्न सञ्चारमाध्यममार्फत प्रसारण गर्ने तयारी गरेको छ।
करिब २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित छ। समुद्री सतहदेखि करिब ३,३०० मिटर उचाइमा रहेको खप्तडमा बाटो मर्मत, मन्दिर संरक्षण, धर्मशाला र गेष्टहाउस निर्माणलगायतका कार्यमार्फत समितिले निरन्तर पर्यटकमैत्री पूर्वाधार विकास गर्दै आएको छ।
समितिको विश्वास छ—यस अभियानले खप्तडलाई नेपाल मात्र होइन, भारतलगायत अन्तर्राष्ट्रिय पर्यटकको पनि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नेछ।