हिन्दु नेपालीहरूका महान चाडहरू दशैँ र तिहारलाई लक्षित गरि प्रत्येक वर्ष दिल्पेश्वर स्पोर्ट्स क्लव दिपायल, डोटीले आयोजना गर्दै आइरहेको पुरूष क्रिकेट प्रतियोगिता दिल्पेश्वर क्रिकेट लिगको तेस्रो संस्करण (DCL-3) आउँदो असोज ०६ गते देखि दिल्पेश्वर खेल मैदान मठ, दिपायलमा आयोजना हुने भएको छ।
आज क्लवले आफ्नो कार्यालयमा एक औपचारिक कार्यक्रम “पत्रकार सम्मेलन” गर्दै प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा जानकारी दिएको छ। जिल्ला भित्रमा सक्रिय पत्रकारहरूको बाक्लो उपस्थितिका बिच सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै दिल्पेश्वर स्पोर्ट्स क्लवका कार्यवाहक अध्यक्ष तथा प्रवक्ता रामभक्त सुनारले प्रतियोगिताको बारेमा विस्तृत जानकारी दिनुभएको हो। जस अन्तर्गत असोज ०६ गते देखि सुरू हुने प्रतियोगिता करिब ६ दिन सम्म चल्नेछ। प्रतियोगितामा टिम दर्ता शुल्क ७००० रहेकोमा प्रथम स्थान हासिल गर्ने टिमले नगद रू. १,११,१११/- र ट्रफी, द्वितीय स्थान हासिल गर्ने टिमले नगद रु. ५१,१११/- र ट्रफी प्राप्त गर्ने छन्। साथै विधागत पुरस्कारहरूमा म्यान अ दि म्याच रू.५००/-, उत्कृष्ट बलर रू. २,०००/-, उत्कृष्ट ब्याट्सम्यान रु.२, ०००/-, प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी रु. ३,५००/- तथा प्रतियोगितामा सबै भन्दा बढी विकेट लिने र सबै भन्दा बढी रन स्कोर बनाउने खेलाडीलाई क्याप प्रदान गरिनेछ।
यस अघि पुरुष क्रिकेट प्रतियोगिता तथा पुरुष भलिबल प्रतियोगिताका समान २/२ संस्करण लोकप्रियता हासिल गर्दै सफलता पूर्वक सम्पन्न गरिसकेको क्लवले यस वर्ष आयोजना गर्न गइरहेको DCL-3 मा स्थानीय खेल प्रतिभाको मनोबल स्तरोन्नति गर्न, खेलाडीहरूमा खेल प्रतिभा विकास गर्न खेल सम्बन्धी ज्ञानहरूको आदानप्रदान गर्ने, क्रिकेट संस्कारलाई थप विकसित बनाउन, र स्थानीय स्तरको प्रतियोगितालाई विश्वव्यापी रूपमा लोकप्रिय बनाउने उद्देश्य सहित प्रतियोगितामा सहभागिता जनाउने टिमहरूमा जिल्लाको प्रतिनिधित्व गर्ने ६ जना तथा जिल्ला बाहिरका ५ जना खेलाडी समायोजन गर्न पाइने व्यवस्था गरिएको पत्रकार सम्मेलन मार्फत क्लवका प्रवक्ता सुनारले जानकारी दिनु भएको छ।
वि. सं. २०८० सालमा स्थापना भइ स्थापना कालको छोटो अवधिमा सफल खेलकुद प्रतियोगिता आयोजना गर्दै चर्चा बटुलेको क्लवले DCL- 3 मा स्थानीय भाषा, कला, संस्कृति तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार र उज्जागर गर्ने उद्देश्य सहित स्थानीय कलाकारहरूका प्रतिभा देउडा, हुड्केली,पुतला, नृत्य लगायतका प्रस्तुती अँगाल्दै साँस्कृतिक मेला लाइ पनि आयोजना गर्ने भएको छ। साथै सबैलाई स्वास्थ्य लाभ उठाउने अवसर प्रदान गर्दै क्लवले सुजङ्ग अस्पताल राजपुर, डोटीको समन्यवमा प्रतियोगितामा १ दिने स्वास्थ्य शिविर समेत आयोजना गर्ने भएको छ। जसमा नि: शुल्क स्वास्थ्य चेकजाँच, परामर्श लिन सकिनेछ।
सम्मेलनमा प्रतियोगिताको विस्तृत जानकारी दिने क्रममा प्रवक्ता सुनारले यस प्रतियोगितामा विभिन्न शिर्षकमा खर्च हुने लागत को कुल अनुमानित लागत करिव ५,५०,०००/- रहेको र प्रतियोगिताको अर्थ व्यवस्थापन प्रतियोगितामा सहभागिता जनाउने टिम दर्ता शुल्क, प्रतियोगिताका मुख्य प्रायोजक, सह-प्रायोजक, प्रायोजक, सहयोगी बाट प्राप्त रकम द्वारा गरिने जानकारी दिनुभयो। यस अघि क्लवले आयोजना गरेका सम्पूर्ण खेलकुद प्रतियोगिताहरू विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था र देश विदेशमा विभिन्न क्षेत्रमा आवद्ध शुभ चिन्तक सहयोगी दाताहरूको महत्पूर्ण सहयोगले गर्दा सफलता पूर्वक सम्पन्न भएका र यस प्रतियोगिता लगायत आगामी खेलकुद प्रतियोगितामा समेत महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा रहेको र सहयोगका लागि सरोकारवाला सबैमा अपिल गरिएको क्लवका कार्यवाहक अध्यक्ष तथा प्रवक्ता रामभक्त सुनारले पत्रकार सम्मेलन मार्फत बताउनु भयो।