डडेल्धुरा - इकाईको २७ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ डडेल्धुराको सभाहलमा सम्पन्न सभामा सहकारीको सुरुवातदेखि हालसम्म महत्वपूर्ण योगदान पुर्याएका सदस्यहरूलाई सम्मान गरिएको थियो।

सभामा सहकारीका सञ्चालक समितिका सदस्य हर्कबहादुर चन्द अध्यक्ष रहे भने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी प्रमुख अतिथि थिए। साथै लेखा समिति संयोजक चित्राङ्ग थापा, ऋण समिति संयोजक डा. प्रेमसिंह भाट, अमरगढी–२ का वडा अध्यक्ष हेमराज पन्त र पत्रकार महासंघ डडेल्धुराका सचिव भीम दाहाल सहित विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ज्येष्ठ नागरिक बचतकर्तामा कृष्णादेवी पाण्डे, उत्कृष्ट उद्यमीमा गोपी सार्की, गणेशप्रसाद जोशी, रम्भादेवी पाण्डेय, चन्द्रिका कुमारी पाल, पार्वतीदेवी जैशी, प्रकाश रावललाई सम्मान गरिएको छ। त्यस्तै उत्कृष्ट बाल बचतमा शिशिर साउँद र अनमोल ओझा पुरस्कृत भए भने गरिब तथा जेहेन्दार छात्रवृत्ति अमर कैनीलाई प्रदान गरिएको थियो।
सहकारी २०५६ सालमा २५ जनाले १० लाख रुपैयाँ शेयर पूँजीबाट सुरु गरेका थिए। अहिले यसका शाखा डडेल्धुरा, बैतडी, डोटी, कञ्चनपुर र कैलालीका विभिन्न ठाउँमा गरी १० ओटा पुगेका छन्। केन्द्रीय कार्यालय कञ्चनपुरको भिमदत्तनगरमा छ। हाल संस्थामा २६ हजारभन्दा बढी सदस्य रहेका छन्।
गत वर्षको तुलनामा यस वर्ष शेयर पूँजी ६.७२% बढेर २२ अर्बभन्दा बढी पुगेको छ। बचत खातामा पनि १२.१२% वृद्धीसहित १ अर्ब ९९ करोडभन्दा बढी जम्मा भएको छ। ऋण लगानी ७.४५% वृद्धि भई १ अर्ब ६३ करोडभन्दा बढी पुगेको छ। सहकारीले सदस्यलाई कृषि, व्यवसाय, पशुपालन, हायरपर्चेज लगायतका क्षेत्रमा ऋण उपलब्ध गराउँदै आएको छ।
गत आर्थिक वर्षमा सहकारीले २९ करोड ३३ लाख आम्दानी गरेको र खर्च कटाएर ३ करोड ७५ लाख नाफा कमाएको अध्यक्ष चन्दले जानकारी दिए। सहकारीले कृषि प्रवर्द्धन केन्द्र, बीउ उत्पादन केन्द्र र राइस मिल सञ्चालन गर्दै किसानका उत्पादन न्यूनतम समर्थन मूल्यमै खरिद–बिक्री गर्ने काम पनि गरिरहेको छ।
आगामी दिनमा सहकारीले सदस्यलाई मोबाइल बैंकिङ, QR कोड, SMS, Coop Card मार्फत छिटो सेवा दिने, कर्जा जानकारी ३ दिनमै दिने, बचत फिर्ता ३ मिनेटमै उपलब्ध गराउने, वित्तीय साक्षरता र उद्यमशीलता तालिम दिने लगायतका योजना अघि सारेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गगनसिंह भण्डारीले बचतकर्ताले आफ्नो लगानीको सदुपयोग भएको छ कि छैन भनेर सोध्ने दिन नै साधारण सभा भएको बताए। उनले सहकारीमार्फत सदस्यको जीवनस्तर सुधार गर्दै स्थानीयस्तरमै स्वरोजगार बन्ने अवसर सिर्जना भएकोमा खुशी व्यक्त गरे।
