भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पछिल्लो तीन वर्षयता महिला र बालबालिका हराउने दर उल्लेख्य रूपमा बढिरहेको छ। जिल्ला प्रहरी कार्यालयका तथ्यांक अनुसार अहिलेसम्म ५२ जनाको अवस्था अझै अज्ञात छ।
आर्थिक वर्ष २०७९/८० मा १०५ जना बेपत्ता भएका मध्ये ९१ जना फेला परे भने १४ जना अझै भेटिएका छैनन्। त्यस्तै, २०८०/८१ मा ११५ जना बेपत्ता हुँदा ११३ जना उद्धार भए पनि दुईजनाको अवस्था अज्ञात रह्यो। हालै सम्पन्न २०८१/८२ मा भने १२२ जना हराएका मध्ये ८६ जना मात्र फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयका अनुसार, बेपत्तामा महिला र बालबालिकाको संख्या उच्च छ। गत आवमा मात्र ५५ महिला, २९ बालिका, २७ बालक र एकजना ज्येष्ठ नागरिक हराएको उजुरी परेको थियो। तीमध्ये ८६ जना फेला परे पनि बाँकी अझै अज्ञात छन्।
प्रहरीको भनाइअनुसार, हराइएका व्यक्तिहरु भारततर्फ जाने, त्यहाँ बसोबास गर्ने वा सामाजिक सञ्जालको दुरुपयोगका कारण बेपत्ता हुने गरेका छन्। निवेदन परेपछि फेला परेका व्यक्तिको जानकारी आफन्तले नदिने प्रवृत्तिले पनि तथ्यांक बढेको प्रहरीको दाबी छ।
यता, प्रहरीले उद्धार कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। गत आवमा मात्रै पाँच महिला, दुई बालक र तीन बालिकालाई सीमा नाकाबाट वा अन्य स्थानबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरी कार्यालयले जनाएको छ।