डडेल्धुरा । नेपाल हेभी इक्विपमेन्ट अपरेटर संघ, डडेल्धुराले आफ्नो दोस्रो भेला तथा चौथो बैठक सफलतापूर्वक सम्पन्न गरेको छ । भेलाको मुख्य उद्देश्य डोजर, एक्स्काभेटर, लोडर, र ग्रेडर जस्ता हेभी सवारी साधन चलाउने अपरेटरहरुले लामो समयदेखि भोग्दै आएका समस्याहरुलाई सम्बोधन गर्नु थियो ।
भेलामा सहभागी अपरेटरहरुले काम गर्ने क्रममा हुने श्रम शोषण, सुरक्षाको अभाव, समयमा ज्याला नपाउने समस्या, र सवारी चालकको लाइसेन्स लिनका लागि रहेको झन्झटिलो सरकारी प्रक्रिया विरुद्ध आवाज उठाएका छन् ।
केन्द्रिय कोषाध्यक्षले अपरेटरका समस्याहरु औंल्याए
कार्यक्रममा बोल्दै संघका केन्द्रीय कोषाध्यक्ष नवीन आलेमगरले अपरेटरहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेले पनि काम सकिएपछि बेवास्ता गरिने गरेको गुनासो गरे । उनले भने, "हामीले समयमा ज्याला पाउँदैनौं, बीमा र सुरक्षाको व्यवस्था छैन, लाइसेन्स लिने प्रक्रिया महँगो र झन्झटिलो छ ।" उनले राज्यसँग यी समस्याहरुको समाधानका लागि कडा रुपमा माग गर्ने र संघलाई अझ बलियो बनाउँदै अपरेटरहरुको हकहितका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निर्माण व्यवसायी संघको ऐक्यबद्धता निर्माण व्यवसायी संघका अध्यक्ष भवानी दत्त अवस्थीले चालकहरुको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले निर्माण व्यवसायीहरुलाई उचित ज्यालाको व्यवस्था गर्नका लागि सचेत गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।
भेलाले अपरेटरहरुको बीमा, सवारी चालक लाइसेन्स प्रक्रियालाई सहज बनाउने, उचित ज्यालाको सुनिश्चितता गर्ने, र सामाजिक सुरक्षा सुनिश्चित गर्नका लागि राज्यसँग दबाब दिने महत्वपूर्ण निर्णयहरु गरेको छ । भेलाको अध्यक्षता संघका अध्यक्ष जयबहादुर बोहराले गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका सल्लाहकार किरण साउदले गरेका थिए ।
