डडेल्धुरा, साउन १५ – बढ्दो सवारी चाप र असुविधाजनक पार्किङ व्यवस्थापनलाई व्यवस्थित गर्न डडेल्धुरामा “जोर–बिजोर पार्किङ प्रणाली” लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको संयुक्त पहलमा बिहिवार एक विशेष कार्यक्रमकाबीच यस प्रणालीको औपचारिक सुरुवात गरिएको हो।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अबदेखि अमरगढी नगरपालिका–५ तुफानडाँडा देखि डडेल्धुरा अस्पतालसम्मको मुख्य सडक खण्डमा जोर–बिजोर प्रणालीअनुसार सवारीसाधन पार्किङ गर्नुपर्नेछ। यो प्रणाली अनुसार जोरी दिन (तारिख अनुसार) मा जोर नम्बरको सवारी, र बिजोर दिनमा बिजोर नम्बरको सवारी मात्र सडक छेउमा पार्किङ गर्न पाइनेछ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले नगरमा ट्राफिक व्यवस्थापन सुधार गर्न नागरिक र व्यवसायीहरूको सहकार्य आवश्यक रहेको बताउँदै सो प्रणालीले शहरमा पार्किङ अराजकता घटाउने विश्वास व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठले यो नियम ट्रायल अवधिमा लागु गरिने र आवश्यक सुधार तथा समीक्षा पछि पूर्ण कार्यान्वयन गरिने जानकारी दिए।
साथै, नागरिकलाई नियमको पालना गर्न र सहकार्य गर्न अपिल गर्दै सुरुवाती चरणमा जनचेतनामूलक अभियान पनि सञ्चालन गरिने ट्राफिक कार्यालय डडेल्धुराले बताएको छ।
यस प्रणालीबाट डडेल्धुरा बजार क्षेत्रमा पार्किङ समस्याको समाधान हुने र ट्राफिक सहज हुने अपेक्षा गरिएको छ।