दिपायल सिलगढी, डोटी - जीवनमा केही गर्नका लागि विदेश नै जानुपर्छ भन्ने सोचलाई गलत साबित गर्दै दिपायल सिलगढी नगरपालिका-७ उडितोलाका ५४ वर्षीय अगुवा किसान टेक बहादुर खड्काले स्वदेशमै कृषिबाट सफलता हासिल गरेका छन्। विगतमा भारतमा रोजगारीको खोजीमा भौँतारिनु परेको अवस्थाबाट उनी अहिले आत्मनिर्भर मात्र बनेका छैनन्, सिंगो समुदायका लागि प्रेरणाको स्रोत पनि बनेका छन्।
पहिले निर्वाहमुखी कृषि गर्दै आएका टेक बहादुरले अहिले व्यावसायिक तरकारी र फलफूल खेतीमा हात हालेका छन्। उनले आफ्नो घरपछाडिको बारीमा हजारौँ बोटबिरुवा हुर्काएका छन्। उनको यो लगनशीलता र रातदिनको मेहनतले उनको परिवारको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ।
टेक बहादुरले कृषिबाट हुने आम्दानीले आफ्ना दुई छोराछोरीलाई उच्च शिक्षा दिन सफल भएका छन्। एक छोरा र बुहारीले स्नातकोत्तरसम्मको अध्ययन सकेर अहिले शिक्षकको रूपमा कार्यरत छन् भने अर्का छोरा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ पढ्दै छन्।
उनको परिवारमा ७ जना सदस्य छन् र सबै जना आ-आफ्नो काममा व्यस्त रहन्छन्। उनी भन्छन्, "परिवारका सबै सदस्यलाई आत्मनिर्भर बनाउनु मेरो मुख्य लक्ष्य हो।"
टेक बहादुरले पछिल्लो १० वर्षमा कृषि कर्मबाट मात्रै १ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेको बताएका छन्। यसबाहेक उनले तराईका विभिन्न ४-५ ठाउँमा घडेरी पनि जोडेका छन्।
उनी आफ्नो वार्षिक आम्दानी ७-८ लाख रुपैयाँ हुने गरेको बताउँछन्। उनको सफलताले मल्लो उडितोलाका अन्य किसानलाई पनि कृषिमा लाग्न प्रोत्साहन गरेको छ।
“आफ्नै देशमा पसिना बगाए असम्भव केही छैन”
टेक बहादुर भन्छन्, "अरूलाई दोष लगाउनुभन्दा आफू सक्षम बनौँ।" उनको यो भनाइले धेरै युवालाई प्रेरणा दिएको छ। उनी भन्छन्, "आफ्नै देशमा पसिना बगाए असम्भव केही छैन। यसले समृद्ध परिवार, समाज र राष्ट्र निर्माण गर्न मद्दत गर्छ।"
टेक बहादुरको यो कथाले के देखाउँछ भने सही दिशा र लगनशीलताका साथ काम गरे स्वदेशमै पनि सफलता पाउन सकिन्छ। उनको मेहनत र सफलता अरूका लागि पनि उदाहरण बनेको छ।