डोटी, २०८२ साउन ११ गते: डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा अवस्थित बगलेक आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। जिल्ला सदरमुकाम सिलगढी दिपायलका स्थानीयका साथै बाहिरी जिल्लाबाट आउने पर्यटकहरूको रोजाइमा बगलेक पर्न थालेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष मदन भण्डारीले बताए।
कामको व्यस्तता वा अन्य कारणले खप्तड पुग्न नसक्नेहरू बगलेकमा पुगेर रमाइलो गर्ने गरेको स्थानीय भीम ठकुल्लाले जानकारी दिए। ठकुल्लाका अनुसार, "यहाँ दैनिकजसो मान्छेहरू आइरहन्छन्, शनिबार विशेष घुइँचो नै हुन्छ।" सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला सदरमुकामबाट पिच सडक निर्माण गरिदिएपछि सिलगढीबाट आधा घण्टाको गाडी यात्रामा पुग्न सकिने बगलेकमा दैनिक दुई सयभन्दा बढी मानिस घुम्न जाने गरेका छन्।
बगलेकमा नयाँ संरचना निर्माण कार्य सम्पन्न भएपछि भारतीय नागरिकहरू समेत घुम्न आउन थालेको दिपायलका स्थानीय पदम खड्काले बताए। परिवार तथा साथीहरूसँग मिलेर पिकनिक खान, रमाइलो गर्न र गर्मी छल्नका लागि बगलेक जाने गरेको पूर्वीचौकी गाउँपालिकाका स्थानीय जनकबहादुर खड्काले उल्लेख गरे। उनले आज आफ्नो टोली पनि बगलेक पुगेको बताए।
खप्तड जाने मूलबाटोमा रहेको बगलेकले खप्तडकै झल्को दिने पाटनका कारण यसलाई 'मिनी खप्तड' को उपमा दिइएको दिपायल सिलगढी नगरपालिकाका स्थानीय नवराज नेपालीले बताए। बगलेक घुम्न पुगेकी एक युवती पार्वती खड्काले समग्र विकासका लागि स्थानीय र प्रदेश सरकारलाई धन्यवाद दिँदै बगलेकमा सरसफाइमा जनचेतनाको अभाव भएको समेत बताइन्।
दिपायल सिलगढीबाट १५ किलोमिटर नजिकै रहेको बगलेक पर्यटकको रोजाइमा पर्नुमा विभिन्न कारणहरू रहेको खप्तड पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेमराज जोशीले बताए। खप्तड जस्तै पाटन, घोडामा यात्राको सुविधा, वनभोज खान पाइने, स्थानीय उत्पादनहरू जस्तै आलु, मकै, निउरो तथा अन्य घरेलु उत्पादनका वस्तुहरू उपलब्ध हुने भएकाले यो क्षेत्र लोकप्रिय बनेको हो। नजिकै रहेको पोखरी र छोटो दूरीका लागि सस्तैमा घोडा सवारी गर्न पाइने भएकाले पनि पछिल्लो समय बगलेक चर्चामा रहेको उनले बताए।