डोटी, २०८२ साउन ११: डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. २ मा अवस्थित बगलेक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको छ। डोटी जिल्ला सदरमुकाम सिलगढी दिपायलका स्थानीय तथा बाहिरी जिल्लाबाट आउने पर्यटकहरूका लागि समेत बगलेक पहिलो रोजाइमा पर्न थालेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष मदन भण्डारीले बताएका छन्।
खप्तड पुग्न नसक्नेहरूका लागि बगलेक एक उत्तम विकल्प बनेको छ। स्थानीय भीम ठकुल्लाका अनुसार यहाँ दैनिकजसो मानिसहरूको चहलपहल हुन्छ, विशेषगरी शनिबार ठूलै घुइँचो लाग्ने गर्छ। सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला सदरमुकामबाट पिच सडक निर्माण गरिदिएपछि सिलगढीबाट करिब आधा घण्टाको गाडी यात्रामा बगलेक पुग्न सकिन्छ। अहिले दैनिक दुई सयभन्दा बढी मानिसहरू बगलेक घुम्न आउने गरेका छन्। दिपायलका स्थानीय पदम खड्काका अनुसार विकास र नयाँ संरचना निर्माणपछि भारतीय नागरिकहरू समेत बगलेक पुग्ने गरेका छन्।
बगलेक परिवार तथा साथीहरूसँग पिकनिक मनाउन, रमाइलो गर्न र गर्मी छल्नका लागि पनि उपयुक्त मानिन्छ। पूर्वचौकी गाउँपालिकाका स्थानीय जनक बहादुर खड्काले आफ्नो टोली पनि बगलेक पुगेर रमाइलो गरेको बताए। खप्तड जाने मूलबाटोमै पर्ने बगलेकमा खप्तडकै झल्को दिने पाटनहरू छन्। यसै कारणले गर्दा यसलाई 'मिनी खप्तड' को उपमा पनि दिइन्छ। दिपायल सिलगढी नगरपालिकाका स्थानीय नवराज नेपाली यसलाई खप्तडको सानो रूप मान्छन्।
दिपायल सिलगढीबाट १५ किलोमिटरको दुरीमा रहेको बगलेकमा खप्तड जस्तै पाटनहरू, घोडा सवारीको सुविधा, वनभोज खाने ठाउँ, स्थानीय उत्पादन जस्तै आलु, मकै, निउरो लगायतका घरेलु उत्पादनहरू पाइने भएकोले पनि यो पर्यटकको रोजाइमा परेको छ। नजिकै पोखरी र छोटो दुरीका लागि सस्तोमा घोडा सवारी गर्न पाइने सुविधाले पनि पछिल्लो समय बगलेकको चर्चा बढेको खप्तड पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेमराज जोशीले बताएका छन्।
बगलेक घुम्न पुगेकी एक युवती पार्वती खड्काले यस क्षेत्रको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकारलाई धन्यवाद दिँदै बगलेकमा सरसफाइमा जनचेतनाको अभाव रहेको औंल्याएकी छन्। समग्रमा, बगलेक डोटीको एउटा यस्तो गन्तव्य हो जसले कम समय र खर्चमा खप्तड जस्तै प्राकृतिक सौन्दर्य र ग्रामीण अनुभव प्रदान गर्छ। यसको बढ्दो लोकप्रियताले डोटीको पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।