डडेल्धुरा, साउन १० : डडेल्धुरामा सामुदायिक तथा घरपालुवा कुकुरहरूको बढ्दो संख्या नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ। साउन ९ र १० गते दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रमको उद्घाटन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतमले गर्नुभएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजना र समन्वयमा सञ्चालित यस कार्यक्रममा काठमाडौं र डोटीबाट समेत विज्ञ डाक्टरहरू सहभागी छन। भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख देवराज भट्टका अनुसार साउन ९ गते ३३ वटा कुकुरको बन्ध्याकरण गरिसकिएको छ भने साउन १० गते पनि सोही संख्यामा बन्ध्याकरण गरिने अनुमान गरिएको छ।
बजार क्षेत्रमा रहेका कुकुरहरूलाई भेटेरिनरी अस्पतालको टोलीले छोपेर अस्पताल पुर्याई बन्ध्याकरण गरिरहेको छ।
कार्यक्रम उद्घाटन गर्दै प्रजिअ गौतमले सडकमा खुला रूपमा सुत्ने कुकुरहरूका कारण ट्राफिक चुनौती बढेको र बिहान मर्निङ वाक गर्ने तथा विहानको कलेज-विद्यालय,ट्युसन जाने विद्यार्थीहरूलाई टोक्न आउने समस्या रहेको बताउनुभयो। यो कार्यक्रमले यी समस्याहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
केन्द्रका प्रमुख देवराज भट्टले गत वर्ष सुरु गरिएको यस्तै कार्यक्रमबाट करिब एक सय भुसिया कुकुरको वृद्धि रोकिएको अनुमान गरिएको जानकारी दिनुभयो। उहाँले प्रजनन दर नियन्त्रण नगरी कुकुरको संख्या वृद्धि झन् जटिल बन्ने धारणा राख्नुभयो। यद्यपि, उहाँले डाक्टरहरूलाई पोखरा र काठमाडौंजस्ता ठाउँबाट मगाउनु पर्ने बाध्यता अझै हट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो।
यो बन्ध्याकरण कार्यक्रमले डडेल्धुरामा सामुदायिक कुकुरको व्यवस्थित नियन्त्रणमा सहयोग पुग्ने र यसबाट स्थानीय बासिन्दाले भोग्दै आएका समस्याहरू कम हुने अपेक्षा गरिएको छ।