शैलेश्वरी माताको आशिर्वाद र आम दर्शकको माया बटुल्दै दिपायल सिलगढी नगरपालिका–४, राजपुरका १८ वर्षीय निरज विश्वकर्मा Nepal Idol सिजन–६ को Top 9 मा स्थान बनाउँदै सुदूरपश्चिमको नाम उच्च बनाएर अघि बढेका छन्।
सानैदेखि गायनमा रुचि राख्दै आएका निरजले यस पटकको आइडलमा आफ्नो दमदार प्रस्तुति मार्फत निर्णायक तथा दर्शक सबैको ध्यान तानेका छन्। उनले आधुनिक, लोक, र रक जस्ता विविध शैलीका गीतहरूमा आफ्नो आवाज र स्टेज प्रेजेन्सबाट श्रोता मन्त्रमुग्ध बनाउन सफल भएका छन्।
निरजको बुबा प्रताप विश्वकर्मा भन्छन्, "निरजको कला असाधारण छ। यही प्रतिभाका कारण उनी १६ जनामध्ये उत्कृष्ट ९ मा पुग्न सफल भएका हुन्। उहाँले नेपाल आइडलको ट्रफी ल्याउने अठोट लिएका छन्।"
भोटिङ खुला
निरजलाई टप ६ मा पुर्याउन भोटिङको आवश्यकता रहेकोले आयोजकले दर्शकलाई शनिबार राति ९:३० बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म भोट गर्न आग्रह गरेका छन्।
नेपालभित्रका दर्शकहरूले eSewa App प्रयोग गरी वा NTC/NCELL बाट 37000 मा "Ni-09" टाइप गरी SMS गरेर भोट गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीले MoMo App मार्फत भोट गर्न सक्नेछन्।
सुदूरपश्चिमलगायत देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई निरन्तर भोटिङ गरेर निरजलाई अगाडि बढाउन अनुरोध गरिएको छ।
"शैलेश्वरी माताको कृपा र जनसमर्थनले नेपाल आइडलको ट्रफी यस पटक सुदूरपश्चिममै ल्याउने विश्वास लिएको छु," निरजले छोटो प्रतिक्रिया दिएका छन्।