डडेल्धुरा - डडेल्धुराको सदियौँ पुरानो अमरगढी किल्लामा नयाँ कोतघर सहितका संरचनाहरू बन्ने काम सुरु भएको छ। गोर्खाली सेनापति अमरसिंह थापाले १८४७ ईसापूर्वतिर निर्माण गराएको यो ऐतिहासिक किल्ला हो। यहाँ तत्कालीन युद्धमा प्रयोग भएका हतियार, ऐतिहासिक अभिलेख र किल्लासम्बन्धी पुस्तकहरू राखिने विशेष कोठघर बनाउन थालिएको छ।
अमरगढी नगरपालिका–५, खलंगामा रहेको यस किल्लामा कोतघर निर्माणका साथै यसको भित्री र बाहिरी ढुङ्गाका संरचनाहरूलाई पनि पुरानै स्वरूपमा फर्काउने काम भइरहेको छ। यसका लागि १ करोड ५० लाख रुपैयाँको लागतमा संघीय परियोजना कार्यान्वयन इकाई, धनगढीको प्राविधिक सुपरिवेक्षणमा भइरहेको छ।
गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने उक्त योजना समयमै ठेक्का नखोल्दा रकम फ्रीज हुन गएको र चालु आर्थिक २०८२/०८३ मा निर्माण कार्य अगाडी बढाउन आवश्यक बजेट बिनियोजन भएको किल्ला संरक्षण समितिका अध्यक्ष प्रवीण जैरुले बताए ।
अमरगढी किल्ला नेपाली इतिहासमा निकै महत्वपूर्ण मानिन्छ। अमरसिंह थापाले कुमाउँमाथि आक्रमण गर्दा यो किल्ला बनाएका थिए। त्यसबेला युद्ध र सुरक्षाका लागि र प्रशासनिक काम चलाउन यसलाई एउटा महत्वपूर्ण अखडाका रूपमा प्रयोग गरिएको थियो। यसले कर्णाली नदी पारिका राज्यहरूमा नेपालको शासन फैलाउन मद्दत गरेको थियो।
कोतघर निर्माणको काम अमरगढी किल्ला संरक्षण समिति डडेल्धुरा नगरपालिका डडेल्धुरा र अर्जुन बाण गण डडेल्धुराको प्रत्यक्ष निगरानीमा भइरहेको छ।
यो कोतघर बनेपछि अमरगढी किल्ला ऎतिहाँसिक,सांस्कृतिक र पर्यटनको एउटा महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ। इतिहास पढने, अनुसन्धान गर्ने र घुम्न जाने मानिसहरूका लागि यो किल्ला अब अध्ययन, अवलोकन र स्मरण गर्ने ठाउँ बन्नेछ। युद्धका हतियार, पुराना कागजात र किल्लासम्बन्धी पुस्तकहरूको संग्रहले यसलाई जीवित सङ्ग्रहालय जस्तै बनाउने अपेक्षा गरिएको छ।
अमरगढी किल्लाको यो पुनःनिर्माण र कोतघर बनाउने कामले डडेल्धुरा जिल्लाको ऎतिहाँसिक पक्षलाई मात्र नभएर सुदूरपश्चिमको गौरवपूर्ण विगतलाई पनि जीवन्त बनाउने अपेक्षा गरिएको छ।
किल्लाको कोतघर निर्माण कार्यको शिलान्यास डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले केहिदिन अगाडि गर्नुभएको हो।