डोटीको दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारमा वृक्षारोपण अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ। नगर प्रहरी, इलाका प्रहरी कार्यालय दिपायलका टोली, स्थानीय व्यापारी, समाजसेवी तथा नेपाल आइडलमा प्रतिस्पर्धा गरिरहेका निरज विश्वकर्माका पिता प्रताप विश्वकर्मा लगायत स्थानियवासीको सक्रिय सहभागितामा अभियान सम्पन्न भएको हो।
बजार क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले नगरपालिकाद्वारा सञ्चालन गरिएको वृक्षारोपण अभियान सराहनीय रहेको स्थानीय वर्षा होटलका सञ्चालक गणेशबहादुर बोहराले बताए। “यो अभियानले हरियाली मात्रै होइन, वातावरणीय सन्तुलनमा समेत योगदान पुर्याउनेछ,” उनले भने।
रातको समयमा पैदल हिँड्ने यात्रु तथा बिरुवाको सुरक्षा र संरक्षणका लागि सडक बत्तीको आवश्यकता रहेको सरस्वती इलेक्ट्रोनिक्सका सञ्चालक नरेश भण्डारीले बताए। साथै, चोरीजन्य घटनाबाट बच्न सिसिटिभी क्यामेरा जडान गर्नुपर्नेमा स्थानीय व्यापारीहरू एकमत छन्। “डिजिटल युगमा बजारको सुरक्षाका लागि सिसिटिभी अत्यावश्यक भइसक्यो,” मामा भान्जा कलेक्सनका सञ्चालक सुरेश महतले भने।
दिपायल सिलगढी नगरपालिका कृषि शाखाका प्रमुख हिक्मत साउदका अनुसार अभियानअन्तर्गत फोक्टेल पाम (६), राविस पाम (६), मयुर पंखी धुबी (१०), अशोका (१०), गोल्ड मोर (१०), क्रिसमस ट्री (१०), सिजियम (५), स्वामी (६), रेड मचेरा (५), सिरिस (१०) र निम (३) प्रजातिका गरी कुल ८४ वटा बिरुवा रोपिएको जानकारी दिए।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले पिपल्ला बजारमा छिट्टै सडक बत्ती र सिसिटिभी जडान गरिने योजना रहेको बताए।
यसैबीच सडक डिभिजन कार्यालयका कुल्पातेले पिपल्ला बजारमा मेडियन निर्माण गरिएपछि बजारले व्यवस्थित रूप लिँदै हेटौंडा बजारको जस्तो स्वरूप लिन सक्ने जनअपेक्षा रहेको बताए।
वातावरण संरक्षण र बजार सौन्दर्यकरणतर्फको यो पहलले स्थानियवासीमा उत्साह थपेको छ। अब बिरुवा संरक्षण र निरन्तरताको लागि सबै पक्षको सहकार्य आवश्यक देखिएको छ।