डडेल्धुरा — डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा बिन्दुबाट हटाएर केवल रेफरल सेवामा सीमित गर्ने निर्णयप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति डडेल्धुराले गम्भीर आपत्ति जनाएको छ।
पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्ने भन्दै खेद प्रकट गरेको छ। साथै उक्त निर्णय तत्काल सच्याउन स्वास्थ्य बीमा बोर्डसहित सम्बन्धित निकायलाई आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘‘डडेल्धुरा अस्पताल यस क्षेत्रका नागरिकका लागि स्वास्थ्य सेवाको प्रमुख आधारस्तम्भ हो। पहिला डडेल्धुरा, डोटी, बझाङ, बैतडी लगायतका स्थानीय तहका बिरामीहरू यहाँबाट प्रत्यक्ष सेवा लिन पाउँथे। तर अब अन्य अस्पतालबाट रेफर भएपछि मात्र डडेल्धुरा अस्पतालबाट बीमाको सेवा पाउने अवस्था सिर्जना हुनु अत्यन्तै अव्यावहारिक छ।’’
माओवादी केन्द्रले यस्तो निर्णय दुर्भाग्यपूर्ण भन्दै आलोचना गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘‘दुई तिहाइ बहुमतको सरकार हुँदा डडेल्धुराकै सांसद शेरबहादुर देउवा प्रधानमन्त्री थिए, अहिले उहाँकी धर्मपत्नी आरजु राणा देउवा परराष्ट्र मन्त्री छन्। कांग्रेसकै स्वास्थ्य मन्त्री हुँदा पनि डडेल्धुरा लगायत पहाडी जिल्लावासी जनतामाथि यस्तो अन्याय हुनु दुर्भाग्यपूर्ण हो।’’
पार्टीले सो निर्णय तत्काल सच्याएर डडेल्धुरा अस्पताललाई पुनः स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा बिन्दु र रेफरल दुवै सेवामा सूचिकृत गर्न माग गरेको छ।
‘‘जनताको स्वास्थ्य अधिकारको संरक्षणका लागि आवश्यक परे जुनसुकै मूल्य चुकाउन पनि तयार छौं,’’ विज्ञप्तिमा उल्लेख गरिएको छ।