दार्चुलाका शैल्यशिखर नगरपालिकाका मेयरका छोरा जनक सिंह धामीद्वारा जीवित व्यक्तिलाई मृत प्रमाणित गरी बैंकमा चेक साट्ने प्रयास गरेका छन।
शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीका छोरा जनक सिंह धामीले जिउँदै रहेका व्यक्तिहरूलाई मृत घोषित गराई बैंक खाता नविकरण गर्ने प्रयत्न गरेको खुलासा भएको हो।
मालिकार्जुन कृषक अगुवा समूहका अध्यक्ष समेत रहेका जनक सिंह धामीले कृषि शाखाबाट समुहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु प्रमाणपत्र तयार गराई ग्लोबल आइएमई बैंक, गोकुलेश्वर शाखामा खाता नविकरण गर्न पुगेका थिए।
तर बैंकले सावधानी अपनाउँदै मञ्जु धामी र जानकी धामीलाई सम्पर्क गर्दा दुबै जना जीवित रहेको पुष्टि भएको हो।
यो प्रक्रियामा शैल्यशिखर नगरपालिकाको कृषि शाखाले समेत संलग्नता देखाएको छ। कृषि शाखा प्रमुख दीपक राज बिष्टले नै दुवै व्यक्तिको मृत्यु प्रमाणित गर्दै खाता नविकरणको लागि बैंकमा सिफारिस पत्र पठाएका थिए।
स्थानियबासी तथा सरोकारवालाहरूले घटनाको गम्भीरतामा ध्यान दिँदै यस्तो गैरकानुनी तथा अनैतिक क्रियाकलापमा संलग्न हुने व्यक्तिहरूलाई यथाशीघ्र कारबाही गर्न माग गरेका छन्।
सिफारिस गर्ने शाखा प्रमुख बिष्ट र सिफारिस गराउने जनक सिंह धामी दुवै जनामाथि छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन सर्वसाधारण तथा सरोकारवाला निकायको जोडदार माग रहेको छ।
मेयर धामी नेकपा एमाले बाट निर्वाचित भएका हुन।