डडेल्धुरा - "शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो" भन्ने नारासहित अजयमेरु गाउँपालिकामा गुणस्तरीय शिक्षा सम्मेलन–२०८२ सम्पन्न भएको छ। एकिकृत पाठ्यक्रम, समावेशी शिक्षा र अनिवार्य तथा निःशुल्क शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम आषाढ १९ र २० गते दुई दिनसम्म सञ्चालित सम्मेलनमा बिद्यालय व्यवस्थापन समिति (बिब्यस) अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, प्रधानाध्यापक, बाल क्लब प्रतिनिधि, सामुदायिक सिकाइ केन्द्र, र शिक्षक सहित सरोकारवाला हरु करिब १५० जनाको उपस्थिती रहेको थियो।
सम्मेलनको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं माओवादी केन्द्र संसदीय दलका नेता माननीय खगराज भट्ट, माननीय डा. तारा जोशी, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विकास तथा समन्वय इकाई, सामाजिक विकास कार्यालय, तथा स्थानीय राजनीतिक दलका प्रमुखहरूको सहभागिता रहेको थियो।
सम्मेलनको दोस्रो दिन शिक्षाविद् बिमल फुयाल, प्रदेश सभा सदस्यद्वय खगराज भट्ट र डा. तारा जोशी, तथा उप–प्राध्यापक पुस्पराज जोशी लगायतले प्रस्तुति दिएका थिए।
दुई दिनसम्म चलेको सम्मेलनबाट १६ बुँदे प्रतिबद्धता पत्र पारित गरिएको छ, जसमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन, शिक्षक क्षमता विकास, बालमैत्री वातावरण सिर्जना, र स्थानीय तहको सक्रिय भूमिकालगायत विषय समेटिएको जनाइएको छ।
सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नमा सहयोग गर्ने सम्पूर्णप्रति गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले हार्दिक आभार व्यक्त गरेका छन।
