डडेल्धुरा, असार १९ — सुदूरपश्चिम प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट हटाएको विषयमा प्रदेशसभा सदस्य मान बहादुर धामीले सो निर्णयलाई राजनीतिक प्रतिशोधको उपज भएको ठहर गर्दै मुख्यमन्त्री कमलबहादुर शाहको नियतमाथि नै प्रश्न उठाएका छन्।
शुक्रबार आफनो सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत धारणा सार्बजनिक गर्दै धामीले मन्त्री चौधरीमाथि लगाइएका दुबै आरोपलाई कमजोर, आधारहीन र स्वार्थप्रेरित भनेका छन्।
मुख्यमन्त्री शाहले चौधरीमाथि आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणमा वित्तीय अनुशासन नअपनाएको आरोप लगाएका छन्। तर धामी भन्छन्, "मात्र १.७% बजेट हिस्सामा सीमित मन्त्रालयले समग्र प्रदेशको बजेट असन्तुलन ल्याएको भन्नु तथ्यपरक भन्दा पनि दोषारोपण गर्ने शैली हो।"
उनका अनुसार बजेटको प्राथमिक जिम्मेवारी भनेको आर्थिक मामिला मन्त्रालयमा पर्छ, र त्यसको अन्तिम निगरानी गर्ने जिम्मा प्रदेशको मुख्यमन्त्रीकै हुन्छ। यस्तोमा सानो बजेट भएको मन्त्रालयलाई निशाना बनाउनु दुर्भावनाका आधारमा गरिएको निर्णयजस्तो देखिएको उनको तर्क छ।
मुख्यमन्त्रीको दोस्रो आरोप मन्त्री चौधरीले खप्तड पर्यटन विकास कोषको कार्यकारी नियुक्तिमा 'मनपरी' गरेको भन्ने छ। तर धामी यसबारे स्पष्ट छन् — "मन्त्रीले कार्यविधि र निर्देशिकाभित्रै रहेर अधिकार प्रयोग गरेका थिए। यसमा कानुनी वा नीतिगत उल्लंघन देखिएको छैन। बरु निर्णय आफूअनुकूल नभएको भन्दै उनलाई दण्डित गरिएको जस्तो देखिन्छ।"
धामीले यो नियुक्ति प्रक्रिया आफैंमा विवादास्पद नभई, यसलाई विवाद बनाउने प्रयत्न गरिएको आरोप लगाएका छन्।
धामीले सरकारको अन्य मन्त्रालयको तुलनामा वन मन्त्रालयले बढी अनुशासन नदेखाएको भन्नु पक्षपाती दृष्टिकोण भएको आरोप पनि लगाएका छन्। "भौतिक पूर्वाधार मन्त्रालयको बजेट करिब ५० प्रतिशत छ। त्यसको खर्च र अनुशासनबारे किन समीक्षा भएन?" भनी उनले प्रश्न गरेका छन्।
उनले नेपाली उखान उद्धृत गर्दै भने, "जो होचो, उसको मुखमा घोचो भन्ने सोचाइलाई प्रदेश सरकारको वर्तमान नेतृत्वले व्यवहारमा उतारेको छ।"
धामीले मुख्यमन्त्री शाहको शासनशैलीमाथि नै प्रश्न उठाउँदै भने — "गणितीय बहुमत हुन सक्छ, तर जनप्रतिनिधि सरकारमा नैतिकता पहिलो सर्त हो। आजको निर्णयले सरकारको नैतिक आधार खस्किएको छ।"
उनको भनाइ अनुसार मन्त्री चौधरीको बर्खास्तीले सुदूरपश्चिममा सरकारभित्र असहिष्णुता, अस्थिरता र एकल निर्णय प्रवृत्ति मौलाउँदै गएको पुष्टि गरेको छ।
