डडेल्धुरा, असार १५ – ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ डडेल्धुरामा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइएको छ।
अमरगढी नगरपालिका–३ डोटि घटालस्थित साउँद गाउँको खेतमा धान रोपाइँ गरेर यस बर्षको दिवस मनाइएको हो।
कार्यक्रममा जिल्लास्थित जिल्ला समन्वय प्रमुख,अमरगढी नगरपालिका उपप्रमुख,प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी गैह्रसरकारी संस्था,सुरक्षा निकायहरु,सञ्चारकर्मी तथा स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो।
कार्यक्रममा डडेल्धुराका उत्कृष्ट तीन जना किसानलाई ‘भीमदत्त पन्त पुरस्कार’ २०८२ प्रदान गरिएको छ।
कृषिमा उत्पादनमा जिल्लामै उत्कृष्ट योगदान गरे वाफत पुरस्कार प्रदान गरिएको र हरेक किसानलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको जनाइएको छ।
यस पुरस्कारले किसानहरूमा थप उत्साह र प्रेरणा ल्याउने विश्वास लिइएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।
कार्यक्रमको आयोजना कृषि ज्ञान केन्द्र डडेल्धुरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिचाइँ विकास डिभिजन कार्यालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED), अमरगढी नगरपालिका कृषि शाखा लगायतका निकायहरूले संयुक्त रूपमा गरेका थिए। प्रमुख आयोजकको रूपमा हरियाली महिला कृषक समूह, अमरगढी - ३ डोटी घटाल, डडेल्धुरा रहेको थियो।
डडेल्धुरामा यस वर्ष ६० प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ। कुल ६ हजार १२० हेक्टर क्षेत्रफलमा धानखेती हुने डडेल्धुरामा यो वर्ष मनसुन समयमै सुरु भएकाले रोपाइँ अघि बढ्न सहज भएको हो।
कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार सिँचाइ हुने जमिनका साथै वर्षामा भर पर्ने क्षेत्रहरूमा पनि समयमै बेर्ना राख्न र रोपाइँ गर्न सहज भएको छ। नियमित रूपमा पानी परिरहेकाले धेरैजसो क्षेत्रमा असार दोस्रो सातामै रोपाइँ सम्पन्न भएको जानकारी दिइयो।
डडेल्धुराको भित्रीमधेस क्षेत्रजस्तै जोगबुडा, परशुराम, आलिताल धान खेतीका मुख्य क्षेत्र हुन्। यस्तै, भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको डोटी घटालमा पनि वर्षे बालीका रूपमा धान खेती हुने गर्छ।
समयमै रोपाइँ भएकाले यस वर्ष उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। धान बाली डडेल्धुराको आर्थिक र खाद्य सुरक्षाको मेरुदण्ड भएकाले यसको उत्पादनमा वृद्धि हुनु ठूलो उपलब्धि मानिएको छ।
