सुदूरपश्चिम प्रदेशको बजेटमा एक हजार रुपैयाँका ८५ योजना समावेश गरिएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा प्रदेश गौरवका योजनामा एक हजार रुपैयाँ बजेट विनियोजन गरेको हो। जसको स्रोत आन्तरिक कायम गरिएको छ ।
प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा सडक कालोपत्रे,कल्भर्ट, सिँचाइलगायतका योजनामा एक हजारदेखि ६ हजार रुपैयाँसम्म पनि बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका निकायमा एक हजारदेखि ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएका पूर्वाधार निर्माणका योजनाको संख्या एक सय १३ छ । प्रदेश गौरवका सडक आयोजनामा समेत हजार रुपैयाँ बजेट विनयोजन गरिएको छ ।
कैलालीमा प्रदेश गौरवको भजनी-छोटीभन्सार-खिमडी-ठूलीगाड सडक योजनामा एक हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार ६० किलोमिटर सडकको साढे तीन किलोमिटर मात्र कालोपत्रे सकिएको छ । थप सडक निर्माणको ठेक्का लागेको छैन । कञ्चनपुरमा प्रदेश गौरवको दोमिल्ला-नाईल सडकको कलुवापुर-चितौरा खण्डका लागि एक हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६, स्थित रानीवन-धैलानालामा डिपिआरसहित पक्की पुल निर्माण, लम्कीचुहा नगरपालिकाको सुतैयादेखि तिघरी जोड्ने नालामा पुल निर्माण तथा बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६, मा सिँचाइ लिफ्टिङ ट्यांकी निर्माणको योजनामा एक/एक हजार रुपैयाँ विनियोजन गरिएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ स्थित मटेला सिँचाइ योजना, अछामको मिर्केगडा सिँचाइ योजनामा एक÷एक हजार बजेट छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३, ४ र ८ मा सडक कालोपत्रेका योजनामा तीन÷तीन हजार विनियोजन गरिएको छ ।
सरकारले यसरी एक हजार विनियोजन गरेर योजना समावेश गर्नुको कारण भने अर्धवार्षिक समीक्षाका क्रममा रकमान्तर गरेर बजेट बढाउनका लागि हो । भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बजेटको स्रोतको व्यवस्थापन नहुँदै सिस्टममा इन्ट्री गरेका योजना पछि हटाउन नपाउँदा हजारका योजना बजेटमा परेको जिकिर गरेका छन् ।
आगामी आर्थिक वर्षमा सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयको बजेट १५ अर्ब ४० करोड ३० लाख १७ हजार छ, जुन गत वर्षको तुलनामा झण्डै ८० करोड बढी हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट पेस गरेका थिए ।