प्रधानमन्त्री केपि शर्मा ओलि ले शनिबार एक कार्यक्रममा भने ‘म एमालेको झोले नै हुँ,’ उनले यसो भनिरहँदा बुद्धिजीवी परिषद्को महाधिवेशनका एक बुद्धिजीवी भन्दै थिए, ‘केपी ओली त देशकै झोले हुनुपर्ने हो, किनकि वहाँ प्रधानमन्त्री हो क्यारे ।’ प्रधानमन्त्री भनेको मुलुक बनाउने कारिन्दा हो, हुनुपर्छ।
राजनीति सेवा हो, नेतृत्व पहरेदार हो । तर ओलीजीमा त्यो गुण भेटिएन । एमालेको झोले हुँ भनेर हजारौं कार्यकर्तालाई झोले ‘दास’ बनाउने मनोविज्ञान हो । त्यसमाथि बुद्धिजीवीहरुकै कार्यक्रममा गएर उनले सन्देश दिन खोजे, ‘धेरै बुद्धि नखियाऊ ! दास (झोले) बन ।
हिजोआज सामाजिक सञ्जालमा दलका कार्यकर्तालाई झोले भनेर गाली गरेको सुनिन्छ, देखिन्छ । सत्तामा भएकाले एमालेका कार्यकर्तालाई अलि बढि आरोप र गाली गर्ने शब्द ‘झोले’ बढि प्रयोग भएको छ । सायद ओली बालाई त्यसले धेरै पिरोल्यो या दास बनाइरहेका कार्यकर्ता बाठो हुने हुन् कि भन्ने चिन्ताले पनि हुनसक्छ । उनले आफूलाई नै सगर्व ‘झोले’ भनेरै घोषणा गरे फेसबुकमार्फत ।
नेतृत्वको विकास, स्वच्छ प्रतिष्प्रर्धाको वातावरण, नागरिकको मौलिक हक अधिकारको उपभोग गर्ने सभ्य शासन कहिले देख्ने जनताले ? सक्छन् भने देशकै झाेले बनेर जनताका आवश्यकता पुरा गरून्, राजनीति चेतसहितकाे नयाँ समाज निर्माणमा लागुन् ।
‘…. भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं..हो म म झोले हो,’ ओलीले भनेका छन् । हो, कम्युनिस्टमा अनुशासन हुन्छ, अझ भन्ने हो भने स्वअनुशासन । जनवाद र केन्द्रीयता पनि हुन्छ । यो समाजको अनिवार्य नियम पनि हो । तर अरुलाई दास बनाउने अभिप्राय राखेर आफैलाई झोले घोषणा गरेर आलोचनात्मक चेतको हत्या गर्न खोजेको देखिन्छ ।
‘केपी वा त आफूलाई झोले भन्छन् भने हामी कोहौं र ? हामी झोले नै हुनुपर्छ,’ कार्यकर्तामा यो भावना पैदा गर्ने मनसायले ओली बाले आफैलाई झोले घोषणा गरिदिए ।
राजनीति संस्कार र पद्धति भत्काएर यो मान्छेहरुलाई आफनाे पछि लाग्न बाध्य पार्ने होडबाजी नेपालका प्रायः सबै राजनीतिक दलमा देखिन्छ नै । गैरदलहरु जो लोकतन्त्रको खिलापमा थिए र छन्, उनीहरु त शताब्दीऔंसम्म जनतालाई रैती बनाएर सामन्ती शासक भएकै थिए । हिजाेआज राजावादी समुहले बेराेजगार युवालाई मासुभात र पेट्राेलकाे लाेभमा नयाँ शैलीमा रैती र दास ‘झाेले’ बनाइरहेका छन् । एकथरी समाजलाइ पछाडि फर्काउन खाेज्ने, अर्काेथरी नयाँ युगका नयाँ दास उत्पादन गर्ने खत्तरनाक प्रवृत्ति माैलाउँदैछ नेपालमा ।
उनीहरूलाई चेत हाेस्, सभ्यपूर्वक सत्यका पक्षमा दृढतापूर्वक उभिने र गलतका विरुद्ध निर्मम भएर लागिपर्ने चेतनाबाट समाज विकास भएको हो । यो समाजको नियम नै हो ।
हिजो सामन्तहरुले ‘दास’ बनाएजस्तै आज दलहरुले ‘झोले’का नाममा लम्पट कार्यकर्ता बनाउने, आलोचनात्मक चेत भुत्य बनाउने काम भएकै छ । हिजोको दास रैतीबाट झोलेसम्म हुनुलाई अलि विकास नै भनिएला । तर चेतनाले दास बनाएर अनुशासनको डण्डा देखाएर झोले बनाउनु पनि चेतनाको हत्या गर्नु हो ।
स्वअनुशासन अर्थात् स्वनियम नै सभ्य समाजको परिचायक मानिन्छ । अर्काको अधिकारको सम्मान गर्ने, आफ्नाे स्वभिमानको रक्षामा दृढटापूर्वक उभिने सह–अस्तिवको संस्कार दलहरुले कहिल्यै बसालेनन्।
कहिल्यै हुनै नपर्ने आफैलाई ‘झोले’ घोषणा गरेर केपी ओलीले अरुलाई भने झोले बन्नुपर्छ भन्ने मनोविज्ञान हालेर नयाँ युगका नयाँ ‘दास’ उत्पादन गरिरहेका छन् र झट्ट नदेखिने गरी आलोचनात्मक चेतको हत्या गरिरहेका छन् । कि झाेले बन नत्र भिम रावल बनाइन्छ भनेर धम्क्याउन खाेजेकाे त हैन ?
नेतृत्वको विकास, स्वच्छ प्रतिष्प्रर्धाको वातावरण, नागरिकको मौलिक हक अधिकारको उपभोग गर्ने सभ्य शासन कहिले देख्ने जनताले ? सक्छन् भने देशकै झाेले बनेर जनताका आवश्यकता पुरा गरून्, राजनीति चेतसहितकाे नयाँ समाज निर्माणमा लागुन् । - रातो मसी