पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गर्नुभएको छ ।
शुक्रबार बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर अध्यक्ष दाहालले जनजागरण अभियानको शुभारम्भ गर्नुभएको हो ।
अभियानको शुभारम्भपश्चात अध्यक्ष दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाइसिएलका केन्द्रीय सचिव नवराज ऐरले बताउनुभयो ।
यसअघि जनजागरण अभियानका लागि यहाँ आइपुग्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन समेत गरेको छ ।
यो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले गर्नुहुनेछ । अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल,गंगा दाहाललगायत नेताहरू यहाँ आउनुभएको छ ।
यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ ।
अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ ।
आज बैतडीको पाटनबाट सुरु भएको अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ ।