डडेल्धुरा - "सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता"भन्ने नाराका साथ सामाजिक विकास कार्यालय डडेल्धुराले विद्यार्थी भर्ना अभियान सम्बन्धी सरोकारवालासंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराको सहकार्य तथा सामाजिक विकास कार्यालय डडेल्धुराले आयोजना गरेको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, अभिभावकहरु,सरोकारवाला कार्यालयहरु तथा सञ्चारकर्मीको उपस्थितिमा सम्पन्न भएको हो।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख राधाकृष्ण जोशीले समुदायमा कुनैपनी विद्यार्थीहरू भर्नाबाट बञ्चित नहोस् भन्नका लागि विद्यालय, अभिभावक, स्थानीय तह र समुदायको साझा प्रयास आवश्यक हुने कुरा औंल्याएका थिए।
उनले यसका लागि अभिभावकलाई भर्ना मिति, प्रक्रिया र आवश्यक कागजातहरूबारे अग्रिम जानकारी दिनु,सूचना बोर्ड, संचार माध्यममार्फत जनचेतना र जानकारी फैलाउनु, शिक्षक, स्थानीय स्वयंसेवक र समाजसेवी मिलेर बालबालिका विद्यालय बाहिर छन् कि छैनन् भन्ने बुझ्ने कुरामा लाग्नुपर्ने बताए ।
विद्यालय उमेर समूहका सबै बालबालिका पहिचान गरी उनीहरूलाई विद्यालय ल्याउने। गरिब, दलित, अपांग, जनजाति लगायत समुदायका बालबालिकालाई निःशुल्क पोशाक, स्टेशनरी, र खाजा उपलब्ध गराउने। पोषण कार्यक्रम, छात्रवृत्ति, विद्यालय यातायात सुविधा (यदि सम्भव भएमा) प्रदान गर्ने लगायत बिशयमा केन्द्रित अन्तर्कृया भएको थियो।
विभिन्न भेला वा कार्यशालामार्फत शिक्षाको महत्व बुझाउने,छोराछोरीको नियमित उपस्थितिमा ध्यान दिन अभिभावकलाई सचेत गराउने,समुदायस्तरमा जागरण ल्याउने, जसले गर्दा कुनै पनि घरबाट बालबालिका विद्यालय बाहिर नरहोस् इत्यादि ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती प्रमुख अतिथि रहनुभएको थियो भने सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख राधाकृष्ण जोशीको कार्यक्रमको अध्यक्षता रहेको थियो । कार्यक्रममा निमित्त सहायक प्रमुख जिल्ला अधिकारी द्वारिका ओझा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख,राष्ट्रिय परिक्षा बोर्डका कार्यालय प्रमुख लगायतको सहभागीता रहेको थियो।
