डडेल्धुरा - प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाको सुनिश्चितता र सञ्चार क्षेत्रको समग्र सुधारको माग गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरा तथा जिल्ला प्रशासन मार्फत सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई अलगअलग ज्ञापनपत्र बुझाएको छ।
श्रमजीवी पत्रकारहरुलाई सम्मानपूर्वक व्यवहार गर्न सूचना प्रवाहमा सबै सञ्चारकर्मीलाइ निष्पक्ष सहभागी गराउन,सूचना र कार्यक्रमहरूको प्रसारणमा स्थानीय सञ्चारमाध्यमहरुलाई प्राथमिकता दिनुपर्ने,पत्रकार सम्मेलन र सरकारी कार्यक्रमहरूको सूचना समयमै उपलब्ध गराउनुपर्ने,प्रेस स्वतन्त्रतामा हस्तक्षेप हुने कुनै पनि कार्य नगरी श्रमजीवी पत्रकारहरूको हक अधिकार सुनिश्चित गर्नुपर्ने लगायत पाँचौँ राष्ट्रिय महाधिवेशनपछि नवगठित कार्यसमितिले औपचारिक रूपमा कार्य प्रारम्भ गरेसँगै आइतबार उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी द्वारिका ओझालाइ बुझाइएको हो।
ज्ञापनपत्रमा पत्रकारहरूमाथि हालै भएका आक्रमण, हत्या तथा सञ्चारमाध्यमप्रति देखिएको अराजक व्यवहारप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। विशेषतः एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कथित राजावादी समूहद्वारा जिउँदै जलाएर गरिएको नृशंस हत्या लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रूपमा चित्रण गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन तथा रजकलाई सहिद घोषणा गरी उनका परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरिएको छ।
सञ्चारगृहमा भएको तोडफोड, सञ्चार सामग्रीको विनाश तथा पत्रकारमाथिका भौतिक आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै संघीय,प्रदेश सरकार तथा जिल्ला प्रशासनको कार्यालयको ध्यानाकर्षण गराइएको छ। साथै, प्रेस र अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको, सञ्चारसम्बन्धी कानून निर्माणमा ढिलाइ भइरहेको, र प्रस्तावित विधेयकहरूले प्रेस स्वतन्त्रतालाई कमजोर पार्न सक्ने उल्लेख गर्दै प्रेसमैत्री कानुनी संरचना निर्माण र सरोकारवालासँग व्यापक छलफलको माग गरिएको छ।
ज्ञापनपत्रमा श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस कार्यान्वयन, प्रेस रजिष्ट्रारको कार्यालय स्थापना तथा रजिष्ट्रार नियुक्तिको माग समेत समेटिएको छ। साथै, दिवंगत पत्रकार कृष्ण सेन इच्छुकको सम्मानमा ‘कृष्ण सेन इच्छुक प्रतिष्ठान’ स्थापना गरी पत्रकारहरूको तालिम तथा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
डडेल्धुरा जिल्लामा सञ्चालित सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको हितमा नीति, कार्यक्रम तथा बजेटमा आवश्यक प्रावधान समावेश गर्न, लोककल्याणकारी विज्ञापन बजेट वृद्धि र समानुपातिक वितरण, अनलाइन मिडियालाई विज्ञापन पहुँचमा ल्याउने तथा पत्रकारहरूको दुर्घटना, स्वास्थ्य र जीवन बीमा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
सञ्चारमाध्यम दर्ता प्रक्रिया सहज बनाउँदै एकपटक दर्तापछि अन्य निकायहरूमा पुनः दर्ता वा नविकरणको झन्झटिलो व्यवस्था हटाई एकद्वार प्रणालीमार्फत दर्ता गर्ने व्यवस्था गर्न र महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत वर्गद्वारा सञ्चालित साना सञ्चारमाध्यमलाई विशेष प्रोत्साहन दिनुपर्ने माग गरिएको छ। साथै, सञ्चारसहित सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने मागसमेत उल्लेख गरिएको छ।
संविधानले सुनिश्चित गरेका संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताजस्ता उपलब्धिहरूमाथि भइरहेका प्रहार रोक्न प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ।
उक्त ज्ञापनपत्र प्रेस सेन्टर नेपालका सुदूरपश्चिम प्रदेश सचीव ललित सिंह बोहरा, डडेल्धुरा जिल्ला अध्यक्ष भीम दाहालको उपस्थितिमा बुझाइएको हो।