तेज डुम्रेल डोटी, – डोटी जिल्लाका विभिन्न क्षेत्रमा देखिएका सार्वजनिक समस्या तथा विकासका ढिलाइ सम्बन्धमा प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी लाई ध्यानाकर्षण गराइएको छ।
अखिल क्रान्तिकारी डोटीका अध्यक्ष पुरन बोहराको नेतृत्वमा एक प्रतिनिधिमण्डलले बिहिवार प्रमुख जिल्ला अधिकारी शर्मालाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा सायल गाउँपालिका सम्मको कालोपत्रे सडकमा सुलभ भाडादर नहुनु, नेपाल टेलिकमको सेवा ग्रामीण क्षेत्रमा कमजोर हुनु, लोडसेडिङ तालिका नआउनुजस्ता कुरालाई प्रमुख समस्याका रूपमा उठाइएको छ।
त्यस्तै, दिपायल सिलगढी भित्र चल्ने बोलेरो जिपले तोकिएभन्दा बढी भाडा लिने, सायल-३ मा विद्युत विस्तार अझै नपुगेको, सायलीगाढमा पक्की पुल नहुँदा जनतालाई सास्ती, डौड स्वास्थ्यचौकी भवन निर्माणमा लापरवाही, झिग्राना सडक नाली सफा नहुँदा वर्षामा आवागमन अवरुद्ध हुने समस्या, ट्राफिक प्रहरीकै सामु बोलेरो जिपहरूले क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता मुद्दा पनि उठाइएका छन्।
साथै, जिल्ला अस्पताल इमर्जेन्सी विभागमा टेलिकमको सेवा नहुनु, शिखर नगरपालिकाको सातनाली पुल निर्माण ढिलो हुनु, थाप्लास्थित धर्मान्तक बृद्धाश्रम भवन अलपत्र रहनु, सायलिगाढ पक्की पुल रातो किताबमा परेको भनिए पनि निर्माण कार्य सुरु नहुनुजस्ता विषयहरूमा तत्काल छानबिन गरी आवश्यक पहल गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहन राज जाेशिले उठाइएका मुद्दाहरूलाई गम्भीरतापूर्वक लिइने र आवश्यक समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिने आश्वासन दिनुभयो।
प्रतिनिधिमण्डलले यी महत्वपूर्ण एजेण्डाहरू प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याइदिन पनि प्रमुख जिल्ला अधिकारी समक्ष हार्दिक अनुरोध गरेका छन