डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि वडा अधिवेसनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन र आठौं जिल्ला अधिवेशनका लागि भएको नेपाली कांग्रेसको वडा अधिवेशनबाट पूर्वसभापति देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा छनौट भएका हुन ।
देउवासँगै रूवाखोलाबाट उनका सचिव भानु देउवा र अन्य नेता पनि सर्वसम्मत निर्वाचित भएको जनाइएको छ। गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। वडा सभापति पदम महताका अनुसार देउवाको नाममा सर्वसम्मति जुटेको हो।
विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहे पनि देउवाले वडाबाटै प्रतिस्पर्धा गरेर महाधिवेशन प्रतिनिधि बन्ने इच्छा देखाएका थिए। जसअनुसार उनलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
देउवाले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी मनोनयनका लागि कौशिलादेवी देउवालाई वारेसनामा दिएका थिए। यसअघि पनि उनी वडाबाटै प्रतिस्पर्धा गर्दै महाधिवेशन प्रतिनिधि बन्दै आएका थिए ।
सभापति गगन थापा पक्षधर कांग्रेसको अधिवेशन यसअघि नै निर्धारित समयमा सम्पन्न भइसकेको छ । थापा पक्षधर अधिवेशनबाट पनि वडातह,पालिका र क्षेत्र र जिल्लाबाट छानिने महाअधिवेशन प्रतिनिधिसम्मको अधिवेशनबाट सर्वसम्मत प्रतिनिधि छनौट भएको जनाएको छ ।
डडेल्धुरामा थापा पक्षधर कांग्रेसले ५२ वडामध्ये ४९ वडामा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति भिमबहादुर साउदले जनाए । देउवा पक्षले बिहीबार ३० वटा वडामा अधिवेशन सम्पन्न भएको र बाँकीमा भइरहेको छ।
यसैगरी,देउवाका स्वकीय सचिव भानु देउवा पनि सोही वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएको गन्यापधुरा गाउँपालिका उपाध्यक्ष तथा कांग्रेस नेता ज्ञानु सेटीले जानकारी गराएका छन्।